सिमकोट । पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचार प्रसारको अभावले हुम्लाको प्रसिद्ध धार्मिक स्थल धार्मिकस्थल “रल्लिङ्ग” गुम्बा तथा पर्व ओझेलमा पर्दै आएको छ । महत्वपूर्ण पर्यटकीयस्थल “रल्लिङ्ग” भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौती लगायतका कारण पर्यटकीयस्थल “रल्लिङ्ग” गुम्बा ओझेलमा परेको हो ।
वर्षको एक पटक मात्रै कहिले वैशाख त कहिले जेठ पूर्णिमामा लाग्ने रल्लिङ्ग पर्व सिमकोट लगायत खार्पुनाथ गाउँपालिका सहित सदरमुकाममा बसोबास गर्दै आएका नागरीक दर्शनका लागि तीर्थयात्री जाने गर्दछन् । दश,एघार वर्षअघि वर्षको एक पटक लाग्ने रल्लिङ्ग पर्वमा हजारौंको संख्यामा भक्तजनहरुको उपस्थिती हुने भएपनि पछिल्लो केही केही सिमीत र थोरै मात्रै दर्शालुहरु जाने गरेको सिमकोट गाउँपालिका–२ का कालि बहादुर भण्डारीले बताउनुभयो ।
भण्डारीले भन्नुभयो, विगतका वर्ष “रल्लिङ्ग” गुम्बाको छुट्टै महत्व थियो । भक्तालुपनि ठुलो संख्यामा हुन्थे । “रल्लिङ्ग” गुम्बामा पुजापाठ, बर मागेपछि, एक घण्टाको पैदल हिडेर तोक्रामा बस्ने चलन थियो । विभिन्न उमेर समुहका साथै विभिन्न जातजातिका नागरीकले रातभर देउडा खेलेर रमाइलो गर्थे । पछिल्लो दिन त्यहि नजिकैको कर्णाली नदी पार गरेर सिबुक भन्ने चौरमा दुई,तीन घण्टा रमाईलो गरेर साँझ घर पुग्ने चलन थियो तर आजकल त्यो सबै कमी हुँदै र हराउँदै जान लागेको बताउनुभयो । आजकल तोक्लाको तलपट्टि सम्म गाडी जाने भएका कारण त्यहाँबाट दुई घण्टाको पैदल हिडेर “रल्लिङ्ग” गुम्बा पुगेर पुजापाठ गरी भक्तालुहरु प्राय फिर्ता हुने गरेका कारण “रल्लिङ्ग” गुम्बाको महत्व हराउँदै गएको छ । केही मानिस मात्रै तोक्रामा बस्ने गर्छन् ।
उच्च क्षेत्रमा अवस्थित रलिङ्ग गुम्बा प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य पनि मानिन्छ । पहाडी भू–भागमा रहेका कारण सूर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । रल्लिङ्ग गुम्वासम्म पुग्नको लागी यो वर्षदेखि यातायात सुविधाका कारण यहाँ पुग्न निकै सहज भएपनि रल्लिङ्ग आसपास गाउँका क्षेत्रबाट करिब तीन देखि चार घण्टाको पैदलमा हिडेर पुग्ने गर्दछन् ।
चौबीसै घण्टा शीतल हावा बहिरहने रलिङ् गुम्वामा पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवं दृष्यावलोकनबाट लोभिन्छन् । पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन । यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ । सदरमुकाम सिमिकोट देखी करिब ६ घण्टाको पैदल यात्रा पछि पुगिने रल्लिङ्गमा गत वर्ष भन्दा यो वर्ष बढी भक्तजनको उपस्थिती रहेको थियो । प्राचिनकालको जुम्लाका राजा अशोक चल्लले लेख्नु भएको ताम्रपत्र यहाँ भेटिएको छ ।
नेपाली साहित्यको लिखित ऐतिहासीक प्रमाणका रुपमा चिनीने ताम्रपत्र हुम्लाको रल्लिङ्ग गुम्बा अझै पनि सुरक्षित रहेको छ । चार हजार मिटर अग्लो स्थानमा रहेको गुम्वामा अशोक चल्लको पालामा लिखत गरिएको ताम्रपत्र रहनुले यो गोम्बा ऐतिहासिक र अध्ययनको विषयवस्तु रहेको छ । यहाँ ४ हजार ८ सय मिटरमा शिव भगवानको विभिन्न रुपमा आठवटा मुर्ति समेत भेटिन्छन् । हिन्दु र बौद्ध धर्मावलम्बीको लागि यो ठाउँ निक्कै पवित्र स्थल हो । चिनको मानसरोवरको महत्व जस्तै यो स्थल अत्यन्तै पवित्र रुपमा लिने गरिएको छ ।
सिमकोट गाँउपालिकाको वडा नम्वर २ मा पर्ने यो गोम्बा सयौँ बर्ष पुरानो भगवान गौतम वुद्धको मुर्ती, गुफा, गुफाको भित्तामा रहेका मानिसका आकृति, चौरी, कुकुर, भेडा तथा अन्य पशुु वस्तुुको आकृृति हुनुु यो गुम्बाको मुख्य आकर्षण हो । गुम्बाको पुजा लागि हरेक वर्ष सिमिकोट गाउँपालिकाको वडा नं. १, २,३, ४ र ५ वडाका लामा जातीका पुजारीको पालो लगाएर नियुक्त गर्ने प्रचलन रहेको छ ।
बलि नचढाईने रल्लिङ्ग गुम्बामा वैशाख तथा जेठ पुर्णिमामा वौद्ध तथा हिन्दु धर्मावम्वीहरुले सन्तान प्राप्तीको र घरमा हुने नराम्रो ग्रह दशा हट्ने जनविश्वास रहेको छ । तिर्थालुुहरुले मनले सोचेको कुरा पुुरा हुने जनविश्वस रहेको सिमकोट गाउँपालिका–२ गोरासिंह बोहराले बताउनुभयो । ठेहे, बरगाउँ, लिमाङ, तोर्पा, हुटिक र बुराउँसे गाउँका केही युवाहरुले घोडा चडेर समेत जाने गर्दछन् भने घोडेटो बाटो राम्रै भएकोले यहाँ पुग्नको लागि सहज हुने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकको यो एक असल गन्तव्य स्थल हो । अचम्मको कुरा त के छ भने यहाँ हिन्दु र बौद्ध दुवै धर्मावलम्वीले पुजा आरती गर्ने गरेका छन् । बौद्ध धर्मावलम्बीले बुद्ध र हिन्दुले शिवको पुजा एकै ठाउँमा गर्ने गर्दछन् ।
धार्मिक मेला सुरक्षाको लागि स्थानिय प्रशासनले सुरक्षा समेत दिने गरेको छ । यो गुम्बामा पुजा र आरती गरेकै दिन जहिले पनि पानी समेत पर्ने गर्छ । गुम्को चारै दिशाको ढुँगामा सुरक्षाको लागि ४ वटा कुकुरको आकृतीमा छाप समेत रहेका छन् । शिवजीले प्रयोग गरेका हरेक वस्तुको यहाँ छाप समेत देख्न पाईन्छ । धार्मिक मेला सम्पन्न गर्नको लागि स्वयंसेवक समेत परिचालन गर्ने गरिन्छ ।
तिर्थालुको लागि त्यहाँ गाउँ–गाउँका पुजारीले प्रसाद समेत बाँड्ने प्रचलन रहेको छ । नजिक रहेको त्वाग्राको मैदानमा रातभर युवा युवतीले देउडा समेत खेलेर रमाईलो गर्ने प्रचलन रहेको छ । रातभर देउडा खेलीसकेपछि मन मिलेको युवाले सोही ठाउँमा दाम्पत्य जीवन समेत सुरुवात गर्ने गरेका छन् । यही दिन कुनै साईत नै नदेखाउनु पर्ने जनविश्वास समेत रहेको छ । देउडा गीतको मर्म र साहित्यबाट एक आपसमा प्रेमभाव झल्काएर एकै रातमा युवा युवतीको विचमा प्रेम गाँसिएर विवाह समेत हुने स्थानीय बोहराले बताउनुभयो ।
नजिक कुनै बस्ती नभएको कारण भक्तजनले खान र बस्नको लागि घेडा, खच्चरमा बन्दोवस्तीका सामाग्री समेत घरबाट नै लिने गर्दछन् । खाजा र खानको लागि २ दिनको लागि मात्र त्यहाँ अस्थायी पसल समेत खुल्ने गर्दछन् । पसलमा खुद्रा सामान, खानेकुरा, मदिरा लगायतका समान विक्रिको लागि राख्ने गरिएको हुन्छ । खुला मैदानमा पाल टाँगेर यस्ता सामान विक्रि गर्दा हजारौंको फाईदा स्थानिय व्यापारीले लिने गरेका छन् । स्थानिय रुपमा तयार पारेका उनीका कपडा सोही दिन विशेष पहिरनको रुपमा लगाउने प्रचलन छ । पुरुषले रातो बख्खु र कम्मल भने महिलाले पनि स्थानिय रुपमा उत्पादित वस्तु पहिरनको रुपमा लगाउने चलन रहेको छ ।
जिल्लाका उत्तरी भेगका सुन्दर हिमाल हिमताल, हिमनदी, बहुमुल्य जडिबुटी, वन्यजन्तुको संरक्षण प्रवद्र्धनमा जोड नदिँदा खेर गईरहेको छ । वर्षेनी १३ हजार देखि १६ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु हुम्लामा आउने गरेका छन् ।
तर पर्यटकलाई त्यस ठाउँको बारेमा जानकारी नहुँदा धेरै दिन बस्न नसकिरहेको अवस्था अझै कायम छ । हरेक वर्ष मानसरोवर कैलाश दर्शन गर्ने भारतिय तिर्थालुहरु दर्शन गर्ने क्रम बढेपनि सिधै हिल्सा यात्रा गर्ने गरेपछि जिल्लाका अन्य पर्यटकीय स्थल र त्यसबाट हुम्लाले लिनु पर्ने फाईदा समेत लिन सकिरहेको छैन । हिमताल, झरना हेर्दै पैदल मार्गबाट पर्यटकलाई सम्वन्धित स्थलमा पुगाउन सकिएमा पर्यटकसँगै काम गर्ने अन्य व्यक्तिले समेत रोजगारी पाउने अवस्था रहेको छ । सिमित हवाई कम्पनीले र होटेल व्यवसायीको नियन्त्रणमा रहने हुम्लाको पर्यटन जनमुखी बनाउनको लागि प्रयास गरिनु पर्ने जरुरी रहेको सिमकोट गाउँपालिका बरगाउँका स्थानीय रङ्गरी लामाले बताउनुभयो ।
मानसरोवर कैलाशको प्रवेशद्धारको रुपमा चिनिदै आएको हुम्लाका थुपै्र ठाउँ प्रचार प्रसारको अभावमा परिचित हुन पाएका छैनन् । जसको कारणले पर्यटकलाई आकर्षित गर्नको लागि समेत कठिन हुनुको साथै ओझेलमा परेका छन् । सुन्दर ठाउँलाई सरोकारवाला निकायले चासो र चिन्ताको विषय नलिँदा पर्यटयकीय स्थलबाट हुम्लाले फाईदा लिन नसकिरहेको अवस्था छ ।
के हो रलिङ गुम्बा
हुम्लाको सदरमुकाम सिमकोटबाट २० किमी पैदल यात्रापश्चात रलिङ गुम्बा पुगिन्छ । सडक बन्ने क्रम जारी छ । रलिङ्ग गुम्बा समुद्र सतहबाट ४ हजार मिटरको उचाइमा अवस्थित छ । गुम्बाको छेवैमा गुफा छ । भगवान् शिवले त्यस गुफामा तपस्या गरेको जन विश्वास छ । गुफा भित्र विभिन्न देव देवताका अनेक मुर्ती छन् । गुम्बामा बुद्ध, देवी आदिका मूर्ति छन् ।
किंवदन्ती अनुसार भगवान् शिव गुफामा ध्यान मग्न हुँदा दैत्यहरुले ठूलो ढुंगाले माथिबाट थिच्न खोजे । भगवान शिवले अजंगको ढुंगा शिरले थामेर बसे । तपो बलले एकरातमै कैलास बनाउन लाग्दा दैत्यसँग घनघोर लडाइँ भयो । दैत्यले लडाइँ हारे । बनाउँदा–बनाउँदै टुप्पोमा काग बसेर करायो । बिहानी पख टुप्पोमा बसेर काग कराएपछि अपवित्र भयो । त्यहाँबाट अझ माथि गएर मानसरोवर बनाएको किम्बदन्ती छ । यस स्थानलाई खाम भाषामा सेर्मुकाङ्ग भन्छन् । सेर्मुकाङ्गको नेपालीमा अर्थ लगाउँदा कान्छो कैलाश हुन्छ ।