अस्थायी प्रहरी पोष्ट स्थापना

Nepal Chek मंगलबार, जेठ २३, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–४ को गोठेलवाडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गाउँपालिकाको मागबमोजिम भाडाको भवनमा उक्त प्रहरी पोष्ट स्थापना गरिएको हो ।

ताँजाकोट गाउँपालिका– ४ र ५ नम्बर वडाको शान्ति–सुरक्षाका लागि गोठेलवाडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

गत चैतमा उक्त पोष्टका लागि प्रहरीबाट स्वीकृत भएपनि भवन व्यवस्थापनमा ढिलाइका कारण तीन महिनापछि स्थापना गरिएको हो ।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ जना प्रहरी पोष्टमा खटिएका छन् । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले एक कार्यक्रमबीच औपचारिक रूपमा पोष्टको उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाको माग ढिलै भएपनि पूरा भएको र अब समाजमा शान्ति–सुरक्षा तथा अमन चयन कायम गर्न सहज भएको उपाध्यक्ष थापाले बताउनुभयो । जनताकै शान्ति–सुरक्षाका लागि प्रहरी गाउँ–गाउँमा खटिएकाले पोष्टमा रहने प्रहरीलाई स्थानीयले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा अन्य जनप्रतिनिधिसमेत सहभागी थिए । सो स्थानमा ४ नम्बर वडा कार्यालय पनि छ । यसअघि गाउँपालिका केन्द्र छप्रेलाबाट कुनै घटना भए प्रहरी पैदल आउनुुपर्ने अवस्था थियो । अब भने ४ र ५ नम्बर वडाको बीचमा प्रहरी पोष्ट भएकाले कुनै पनि घटना भए स्थानीयलाई सहज हुनेछ ।

पोष्टका लागि गाउँपालिकाले भाडाको भवनको व्यवस्था गरेको हो । ताँजाकोटमा यसअघि छप्रेलामा अस्थायी प्रहरी चौकी स्थापना भएको गरिएको थियो । अब यो सहित दुुई वटा प्रहरी चौकी र पोष्ट खडा भएका छन् भने ताँजाकोटकै कवाडीमा सीमा प्रहरी चौकी रहँदै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]