सिमकोट । हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा २ हजार एक सय ८९ जनाले सेवा लिएका छन् । तीन दिनसम्म सञ्चालन भएको वृहत एकीकृत स्वास्थ्य शिविरमा जिल्लाभरका नागरीकले स्वास्थ्य उपचार गराएका छन् ।
शिविरमा ०–९ वर्ष सम्मका १९०, दश देखि चौध वर्षसम्मका १२३ जना, १५ देखि १९ वर्षसम्मका १०६ जना र २० देखि ५९ वर्षसम्मका १४ सय ५९ जनाले उपचार गरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । यस्तै निःशुल्क स्वास्थ्य शिविरमा ६० देखि ६९ वर्षसम्मका २०४ जना र ७० वर्षभन्दा माथिका १०७ जनाले स्वास्थ्य उपचार गरेका हुन् । शिविरमा १३ सय ५० महिला र ८३९ जना पुरुष गरेर २ हजार एक सय ८९ जनाले सेवा लिएको स्वास्थ्य प्रमुख सिंहले बताउनुभयो ।
जिल्लामा तीन वर्षपछि विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविरमा सबैभन्दा बढी हार्डजोर्नी र स्त्री रोगका बिरामी देखिएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । कोरोनापछि पहिलो पटक जिल्लामा विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
शिविरमा मुटु रोग, प्रसूति तथा स्त्री रोग, जनरल फिजिसियन, हाडजोर्नी तथा नसा, नाक, कान र घाँटी, छाला रोग र बाल रोगलगायतको निःशुल्क उपचार गरिएको हो । त्यस्तै शिविरमा अकुपन्चर विधिबाट ६ सय २५ जनाको उपचार गरिएको छ । सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका तथा स्वास्थ्य सेवा कार्यालयको आयोजनामा जेठ २५ गतेबाट शुरु भएको शिविर शनिबार सम्पन्न गरिएको हो ।
शिविरमा ६ जना विशेषज्ञ चिकित्सकसहित ११ जनाको टिमका साथै जिल्ला अस्पतालका चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीले साथ दिएका थिए । व्यवस्था प्रारम्भ सामाजिक संस्था ललितपुर र सिंगापुर रेडक्रस सिंगापुरको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
तस्विर :दाने बोहरा