सिमकोट । सुन्दा अचम्म लाग्न सक्छ दुर्गम जिल्ला हुम्ला त्यसमाथि दुर्गम वस्तिका विद्यार्थीले भुइँमा बसेर पढ्नु पर्ने बाध्यता छ ।
जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन ।
गणतन्त्र प्राथमिक विद्यालयको भवन गत वर्ष असोज १९ देखि २७ गतेसम्म अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी भत्किँदा विद्यार्थीहरु भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका हुन् । जैर गाउँ सदरमुकाम सिमकोटबाट ३८ कोष टाढा पर्छ ।
६ कोठे माटोले छाएको विद्यालय भवन भए पनि बाढी–पहिरोले ३ वटा कोठा भत्काएको र बाँकी तीन वटा कोठा जीर्ण भएर कोठामा बस्नै नमिल्ने अवस्थामा रहेका कारण गत असोजबाट नै सबै विद्यार्थीहरुलाई अर्काको बाँझो खेतमा बसालेर पठनपाठन गराउन पर्ने बाध्यता रहेको सोही विद्यालयका प्रधानध्यापक मिन बहादुर रावतले बताउनुभयो ।
बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने गणतन्त्र प्राविमा घाम लागेको समयमा विद्यार्थी खेतमा राखेर पठनपाठन गरिए पनि पानी परेको दिन विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रावतले गुनासो गर्नुभयो । विद्यालय पुनःनिर्माणका लागि सर्केगाड गाउँपालिका, सामाजिक विकास कार्यालय हुम्ला, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश योजना आयोगमा पटक पटक अनुरोध गर्दा पनि कसैले सुनुवाइ नगरेको सर्केगाड गाउँपालिका–१ का वडाअध्यक्ष बलबहादुर कार्कीले बताउनुभयो ।
विद्यालय भवन बाढीपहिरोले भत्काएपछि राम्रोसँग पठनपाठन नहुँदा विद्यार्थी संख्या १ सय २ जनाबाट घटेर ७८ जना मात्र रहेका छन् ।
रावतले भन्नुभयो, “ती विद्यार्थीलाई पनि घाम–पानी छेक्ने कक्षा कोठा व्यवस्था काहीँ कतैबाट पहल नभएपछि केही सिप नलागेर घाम लागेको दिन मात्र खेतमै बसालेर पठनपाठन गर्नु हाम्रो बाध्यता हो,”प्रधानाध्यापक रावतले दुःखेसो पोख्नुभयो । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा ४ जना शिक्षकले घाम लागे मात्र चौरमा पठनपाठन गराउँदै आएका छन् । विद्यालयमा २ जनाको दरबन्दी, बालविकास शिक्षक १, पालिकाबाट अनुदान शिक्षक १ र विद्यालय कर्मचारी १ गरी जम्मा ५ जना कार्यरत छन् ।
विद्यालय भवन अभावमा अहिले अर्काको बाँझो खेतमा विद्यार्थीलाई ३ ठाउँमा भेला गरी पठनपाठन गर्दै आएका छन् । हिउँदको मौसममा जसोतसो गुजरा चलाए पनि वर्षाको मौसममा भने कठिन हुने गरेको उहाँले बताउनुभयो ।
बाँझो खेतमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहोर हुने हुँदा विद्यार्थीले घरबाट काठको टुक्रा बोकेर ल्याइ भुइँमा राखेर बस्ने गरेका छन् । वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग विद्यालय भवन निर्माणमा सहयोगका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको हो ।
देवल आधारभूत विद्यालयका विद्र्यार्थीको पिडा पनि उस्तै
सर्केगार्ड गाउँपालिका– १ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थीको पिडा पनि कम छैन् । उनिहरु पनि यसरी भुुइँमा बसेर अध्ययन गर्दै आएका हुन् । सहज रूपमा शिक्षा प्राप्ति गर्नु संवैधानिक अधिकार भए पनि यस विद्यालयका विद्यार्थी कक्षा कोठाभित्रको धुलाम्मे भुुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन् । विद्यालयले कक्षा कोठामा डेक्स बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुुइँमा बसेर अध्ययन गर्नुपरेको हो ।
आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा कक्षा सात र आठका विद्यार्थी जीर्ण डेक्स बेन्चमा बसेर अध्ययन गर्दै आए पनि बाँकी बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थी भुुइँमा बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक कालीबहादुुर रावतले बताउनुभयो । बेन्चडेक्स भएका कक्षाका लागि अभिभावक मिलेर २० हजार रुपैयाँ उठाइएको थियो । भवन निर्माण गरे पनि कोठामा डेक्सबेन्चको व्यवस्था नहुँदा चार वर्षदेखि विद्यार्थी धुलाम्मे भुुइँमा बस्दै आएका छन् ।
भुुइँमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहोर हुने गरेका छन् । उक्त विद्यालयको कक्षा कोठामा विद्यार्थीले घरबाट काठको टुुक्रा वा ढुंगा बोकेर ल्याई भुुइँमा राखेर बस्ने गर्दै आएका छन् ।
विद्यालयमा २ सय २० जना विद्यार्थी अध्ययन गर्छन् । वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेक्सबेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको प्रधानध्यापक रावतले गुनासो गर्नुभयो ।
यसअघि कक्षा पाँचसम्म मात्र पढाइ हुने विद्यालयमा कक्षा पाँच उत्तीर्णपछि सरस्वती मावि जैर, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगर वा मुुगुु जिल्ला गएर अध्ययन गर्नुपर्ने भएपछि विद्यालयले कक्षा आठसम्म पठनपाठनका लागि अनुमति लिएको हो । कक्षा बढाए पनि विद्यालयलाई आवश्यक भौतिक पूर्वाधारको समस्याले पठनपाठनमा समेत असर पारेको विद्यालयले जनाएको छ ।