सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालित आँखा शिविरमा विभिन्न ९० जनाको आँखाको अप्रेसन गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको शिविरमा दुई दिनमा ९० जनाको आँखाको सफल अप्रेसन गरिएको र २ सय ४४ जनाको आँखाको विभिन्न समस्याको उपचार गरिएको साँया स्वास्थ्य चौकीका इन्चार्ज ववरजंग पालले बताउनुभयो ।
तिलगंगा आँखा अस्पतालका डा. रिता गुरुङ्ग नेतृत्वको आँखा रोग विशेषज्ञ नेतृत्वको टोलीले शिविरमा आएका जिल्लाको ताँजकोट, अदानचुली, चंखेली र सर्केगाडका आँखा बिरामीहरुको उपचार गर्ने काम भएको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिनुभयो । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा र सर्केगाड गाउँपालिकाको समन्वय र आयोजनामा शिविर सम्पन्न भएको हो ।
काठमाडौंबाट आएको विषेशज्ञ चिकित्सकको टोली, पालिकाको स्वास्थ्य शाखा र सायाँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको अथक प्रयासले शिविर व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्ने काम भएको अध्यक्ष रोकायाले बताउनुभयो । आँखाको विभिन्न समस्याले दृष्टि गुमाएका, न्यून दृष्टि भएका र अन्य आँखाको समस्या भएका बिरामीहरुको सफल उपचार गर्ने काम शिविरमा भएको छ उहाँले बताउनुभयो ।
शुक्रबारबाट शुरु भएको शिविरको पहिलो दिन ६५ जना र आज दोश्रो दिन शनिवार २५ जना गरी जम्मा ९० जनाको आँखाको सल्याक्रिया भएको छ ।