सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ मा रहेका दुईवटा गाउँमा टेलिफोनको टावर नहुँदा फोन सम्पर्कमा जोडिन समस्या हुने गरेको छ । विगत लामो समयदेखि वडा १ मा रहेका ताङगिन र हेप्का गाउँका नागरीकले टेलिफोन नहुँदाको समस्या झेल्दै आउनु परेको छ । ताङ्गीन गाउँका नागरीकले फोन गर्नका लागि २ घण्टा बढीको पैदल हिडेर सञ्चारमा जोडिनु पर्ने बाध्यता रहेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।
नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटताले टेलिकमको टेलिफोन सेवा ताङ्गीन गाउँमा पुग्न नसकेको स्थानीय सुन्डुप लामाले गुनासो गर्नुभयो । सिमकोट गाउँपालिका–७ को धारापोरीमा रहेको टावरले कुनै काम नगरेपछि यहाँ नागरिक लामो समय विगतदेखि नै सञ्चार सेवाबाट वञ्चित भएको लामाले गुनासो गर्नुभयो । टेलिकमको सेवा प्रभावकारी नभएको यहाँका स्थानीयवासीको गुनासो छ ।
टेलिफोन नहुँदा टावर निर्माणका लागि नाम्खाका जनप्रतिनिधिलाई बारम्बार हारगुहार गर्दा कसैले सुनावाई नगरेको यहाँका स्थानीयको दुखेसो छ ।
एक ठाउँबाट अर्को ठाउँसम्म र सदरमुकाम तथा जिल्ला बाहिर रहेका आफन्तसँग पनि फोन सम्पर्कमा जोडिन गाउँबाट दुईदेखि तीन घण्टाको टाढा गएर जोडिनु पर्ने बाध्यता रहेको छ । आफन्तजनसँग कुराकानीलगायत काम गर्न धेरै टाढा जानु पर्छ ।
सिमकोट–७ धारापोरीमा रहेको टावर डाडोले छेक्नुका साथै ताङ्गीन र हेप्का गाउँ होचो खोँचमा रहेको हुनाले समेत उक्त टावर काम नर्गुका साथै यहाँका नागरीकले फोन सम्पर्कको समस्या झेल्दै आउनु परेको छ ।
हेप्का गाउँका झण्डै ८० र ताङ्गीन गाउँका ६० घरधुरीका नागरीक टेलिफोन टावर नहुँदाको समस्या झेल्दै आउनु परेको छ । त्यहाँका अधिकांश स्थानमा नेटवर्कमा समस्या हुँदा स्थानीयलाई हिँडेर डाँडोमा पुगी फोन गर्नुपर्ने बाध्यता सिर्जना भएको हो । नेपाल टेलिकमले भने यस बारेमा अनविज्ञ बनेको छ ।