सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकालाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब रु ११ लाख मुल्य बराबरको औषधि सहयोग गरेको हो । ४५ प्रकारका विभिन्न औषधि तथा अतिआवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग प्राप्त गरेको साँया स्वास्थ्यचौकी प्रमुख बबरङ पालले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको पहलमा उक्त स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको पालले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कार्कीले केही औषधि र आवश्यक स्वास्थ्य सामाग्रीको माग गरेपछि स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले माग गरिएका सामाग्री गाउँपालिकालाई सहयोग गरेको हो । स्वास्थ्य सामग्री प्राप्त भएसँगै सर्केगाड गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवामा थप प्रभावकारी हुने साँया स्वास्थ्य चौकीका प्रमुख पालले बताउनुभयो ।
साथै अबको केही दिनमा सायाँ स्वास्थ्य चौकीमा प्रदेश प्रयोगशाला सुर्खेतको सहयोगमा आधारभुत ल्याब सेवा सञ्चालनमा ल्याईने भएको उपाध्यक्ष कार्कीले बताउनुभयो । जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्था पछिल्लो समय प्रविधिमैत्री हुँदै गएका छन् ।
सर्केगाड गाउँपालिकामा ६ स्वास्थ्यचौकी, २ आधारभूत स्वास्थ्य केन्द्र र ७ वटा सामुदायिक स्वास्थ्य ईकाइ रहेका छन् ।