सिमकोट । मुगु जीप दुर्घटनामा घाईते भएकाहरुलाई थप उपचार गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । सोमबार साँझ ४ :४५ बजे भएको जिप दुर्घटनामा परि घाईते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भएपनी अस्पतालमा सिटि स्क्यान लगायतका मेसीन नहुदाँ समस्या र जटिलता पहिचान गर्न चिकित्सकहरुलाई कठिनाई भएपछि घाईतेहरुलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको हो ।
वर्षाको पानीले कर्णाली राजमार्ग अन्तरगत गोठीजिउला – गमगढी सडक खण्डको ठाँउ ठाँउमा पहिरो गएको र रारा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयले हवाई सेवा दिउँसो सञ्चालमा नरहेकाले घाईतेहरुको हेलिकप्टर मार्फत थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाईएको मुगु जिल्लाबाट संघिय सांसद ऐन बहादुर शाहीले जानकारी दिए ।
जिल्ला अस्पातलमा उपचार सम्भव नहुने भएपछि घाईते चारै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पहल गर्न जिल्ला अस्पातल मुगुबाट मंगलबार जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्र लेखेर जानकारी गरिएपछि सोहि पत्र आफुले गृह मन्त्रालय,संघिय सांसद,प्रदेश सांसदहरुलाई आवश्यक पहलका लागी पठाएको र उहाँहरुको पहलमा घाईतेहरुको थप उपचार गर्न नेपाल सरकारले हेलिकप्टरको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।
घाईतेहरुको टाउकोमा चोट देखिएकाले सिटिस्क्यान मेसीन नहुदाँ उनिहरुको टाउको चोट कत्तिको छ भन्ने थाहा नभएको जिल्ला अस्पातल मुगुका डाक्टर नहकुल शाहीले बताउनुभयो । उहाँका अनुसार अनुसार टाउको सर्पोटका लागि आवश्यक सरभाईकल कोलर र स्पाईलल ब्याक सर्पोट नहुदाँ कार्टुनको प्रयोग गरेर भएपनि उपचार गरिएको थियो ।
सोमबार भएको जिप दुर्घटनामा सवार ९ जना मध्य हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका राम परियार, सिमकोट गाउँपालिका-२ ठेहे गाउँका राम परियार, प्रकाश बोहरा र खार्पुनाथ गाउँपालिका-२ पिउस गाउँका मिन परियारको मृत्यु भएको थियो भने मुगुको सोरु गाउँपालिका वडा नम्बर–५ का वडा सदस्य लोकजंग नेपालीको उपचार गर्न जिल्ला अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भएको थियो ।
दुर्घटनामा मुगुको सोरुगाउँपालिका ७ चिप्लेगौडा नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परेका ४ जना चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही,सोरु ६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उजिर बोहोरा गम्भीर घाइते भएका थिए । घाईते ४ जनाको २४ घण्टा पछि सुविधा सम्पन्न अस्पातलमा लगिएको छ ।
सोरु गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका ७ चिप्लेगाडामा सोमबार अपरान्न ४ बजे दुर्घटना भएको थियो ।