जहाज कुर्दै चार शिशुले ज्यान गुमाए

दाने बोहरा बुधबार, साउन ३१, २०८०

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरीकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । साउन महिनाभरी हुम्ला सहित देशभरको मौसम खराब हुनुका साथै जिल्लामा नियमीत उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको मृत्यु भएको छ ।

खराब मौसमका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले दिनको १२ बजेपछि उडान नहुने हुँदा हुम्लाका चार शिशुले उपचारको अभावमा ज्यान गुमाएका हुन् । जिल्ला अस्पतालबाट रिफर गरिएका ती शिशुले सुविधा सम्पन्न अस्पतालको उपचार खोज्दै जिल्ला अस्पतालको बेडमै ज्यान गुमाएका हुन् । जिल्लामा पानी पर्नुका साथै बाक्लो बादल लाग्नुका साथै १२ बजेपछि मौसम सुधार भएपनि उडान नहुँदा ती बालकको ज्यान गएको हो । दुर्गम जिल्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

विमानस्थल पुग्दै फर्किंदै गर्नु सेवाग्राहीको दिनचर्या बनेको छ । यही चपेटामा परेर हुम्लाका चार बालकले ज्यान गुमाउनु परेको हो । हुम्लाको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका–७, डाँडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुवारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

साथै हुम्लामा पछिल्लो समय हवाई सेवा प्रभावित भएको हुँदा पनि उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने गम्भीर प्रकृतिका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ । नागरिक उड्ड्ययन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन । बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमअनुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकोले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरु बढी समस्यामा परेका छन् ।

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमीत नहुँदा उपचारका जिल्ला बाहिर लिन नसक्दा मृत्यु भएको बालकका बुवा सिमकोट गाउँपालिका–६ का सुरज सुनारले गुनासो पोख्नुभयो । आर्थिक अवस्था कमजोर हुनुका साथै जिल्लामा हवाई सेवा सुचारु नहुँदा छोरा गुमाउनु परेको दुखेसो पोख्नुभयो ।

अस्पतालका चिकित्सक रोशन रावतले भन्नुभयो, “गत साउन १७ गते चिकित्सकले अस्पतालमा उपचार नहुने भन्दै जिल्लाबाहिर रेफर गरेको भए पनि समयमै जिल्ला बाहिर लैजान नसक्दा ६ महिनाका बालकको अस्पतालको बेडमै मृत्यु भएको हो ।” साउन १४ गते बालकलाई मिनोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । ”

बालकलाई निमोनिया, झाडापखाला र जटिल खाले संक्रमण भएपछि अस्पतालका चिकित्सकले साउन १७ गते जिल्लाबाहिर रिफर गरेका थिए । त्यसयता हवाई सेवा अवरुद्ध भएकोले थप उपचार गर्न नपाउँदा बालकको मृत्यु भएको हो । साउन २६ गते बिहान बालकको मृत्यु भएको हो ।

त्यसैगरि साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका सिमकोट गाउँपालिका– ७ ग्वालेखोरकी लालकला शाहीका ६ महिनाका छोरा रोहितको पनि साउन २४ गते मृत्यु भएको थियो । रोहितलाई पनि अस्पतालले जिल्लाबाहिर रिफर गरेको थियो ।

त्यस्तै, अस्पतालले उपचारका लागि जिल्लाबाहिर रिफर गरेका खार्पुनाथ गाउँपालिका–१ का १७ महिनाका आर्यन परियारको साउन ७ गते मृत्यु भएको थियो भने चंखेली गाउँपालिका– ४ का पाँच महिनाका बालक सन्देश लुवारको पनि उपचार अभावमा मृत्यु भएको थियो ।

प्राधिकरणले आफ्नो निर्णय फिर्ता नलिए आन्दोलन गर्ने हुम्लीको चेतावानी

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि लागु गरेको नयाँ नियम हटाउन हुम्लाबासीले माग गरेका छन् । पुरानै समय तालिकाअनुसार हवाई उडान नियमित गराउन माग गर्दै स्थानीयले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहोबरमा भएको छलफलमा २÷३ दिन भित्र प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि गत १४ गतेदेखि लागु गरेको नयाँ नियम फिर्ता नलिए कडा आन्दोलन गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला सचिव धर्मराज बोहरा बोहराले बताउनुभयो । प्राधिकरणको साउन १५ गतेको परिपत्रअनुसार हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा दिउँसो साढे १२ बजेपछि हवाई उडान बन्द गर्ने निर्णयले उडान प्रभावित हुँदै आएको छ ।

बिहान ११, १२ बजेसम्म प्रतिकूल मौसमका कारण हवाई उडान हुन सक्दैन भने त्यसपछि मौसम सफा भएपनि प्राधिकरणको नयाँ नियमअनुसार उडान गर्न पाइँदैन । जसका कारण उडान हुन नसक्दा हुम्लीबासीले निकै सास्ती भोग्नु परेको छ । प्रमुख जिल्ला अधिकारीमार्फत संघ सरकारको ध्यानाकर्षण गराउँदै प्राधिकरणलाई निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सो निर्णयअनुसार आन्तरिकतर्फको हवाई उडान कार्यतालिकाको कारण हुम्ला सहितका हिमाली जिल्लाका २९ वटा विमानस्थलमा हवाई उडान प्रभावित हुँदै आएको छ ।

उपचार अभावमा बिरामीले ज्यान गुमाउनु परेको, परीक्षार्थी परीक्षा दिनबाट बञ्चित हुनु परेको, समयमा खाद्यान्न ढुवानी नहुँदा खाद्य अभाव भएको र समग्र हुम्लाको दैनिकीमा असर परेकाले पूर्ववत रुपमै हवाई उडान हुनु पर्ने हुम्लीको माग रहेको नेपाली कांग्रेसका जिल्ला पार्टी उपसभापति कैलाश भण्डारीले बताउनुभयो ।

जिल्लामा क्रियाशील राजनीतिक दलका अगुवाहरुले उडान कार्य तालिकामा पुनःविचार नगरे कडा आन्दोलनमा जाने चेतावनीसहित प्रजिअ मार्फत संघ सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]