सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ । भने खर्कमा रहेका अन्य विरामीको उपचार गरेको छ । स्वास्थ्यकर्मीले करीब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
हुम्लामा बर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरी गाईसहित अन्य पशुवस्तु चरिचराउका लागि लिनुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनिहरुको उपचारको लागि घुम्ति शिविर सञ्चालन गरेको हो । सिमकोट गाउँपालिका–१ चुवाखोला वन र सोही पालिकाको वडा नम्बर ८ मा पर्ने रानी शैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरीकलाई उपचार गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।
चुवाखोला र रानी शैना खर्कमा गरी ८ जना बालबालिकालाई बिसिजि, डिपीटी,पिसीभी, पोलियो, जेइ, र मिजल्स रुबेला टाइफाइड लगायत आदी रोग विरुद्धको खोप ती बालबालिकालाई लगाइएको संयोजक भण्डारीले बताउनुभयो । वर्खा सिजनमा खर्कमा बालबालिका पनि सँगै लैजाने भएकाले उनिहरु बसोबास गरिहेका खर्कमा पुगेर खोप लगाइएको हो । यस्तै यि दुईवटा वडामा रहेका उच्च पहाडी खर्कमा गोठाला बसेका ७५ जना गोठालाको स्वास्थ्य चेकजाँच गरि औषधि उपचार गरिएको हो ।
यसैगरी चुवाखोला खर्कमा सिमकोेट–,१ मा रहेको स्वास्थ्य इकाई दोजामका स्वास्थ्यर्की रत्न बोहरा,सोही वडामा रहेको कुम्ली आधारभूत स्वास्थ्य इकाईका धनजीत भण्डारी र वडा २ ठेहे स्वास्थ्यचौकीबाट खटिएका सविन भण्डारी र वडा नम्बर आठमा रहेका रानी सैना खर्कमा धरन शाही खोल्सी स्वास्थ्य इकाई, नवीन बुढा साँता स्वास्थ्य र राजेन्द्र शाही स्याडा स्वास्थ्यचौकीबाट उनिहरुको उपचारका लागि खटिएका थिए ।
बालबालिकालाई खोप लगाउनकै आफूहरू डेढ दिन पैदल हिडेर खर्कमा पुगेको ठेहे स्वास्थ्यचौकीबाट खटिएका स्वास्थ्यकर्मी सविन भण्डारीले बताउनुभयो । जागिर खाएपछि नजिक टाढा नभनि काम खटिएको उनिहरुको भनाई थियो ।
वर्षायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवाद समेत दिएको छ ।