सिमकोट । पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पशुपालन व्यवसायमा लाग्दै आएका कृषकको पशु बिमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा विगतकको वर्षको तुलनामा पछिल्लो समय गाई,गोरु,घोडा, खच्चड, झोपा,जुमा,भेडा बाख्रा र गधाको बिमा गराउने कृषकको संख्या बढ्दै गएको शिखर इन्स्योरेन्स हुम्ला शाखाका पशु प्राविधिक उपेश भण्डारीले बताउनुभयो । प्राविधिक भण्डारीका अनुसार, जिल्लामा यस अगाडि विमा गरेको पशु मरेपछि पशु विमा गर्ने कृषकलाई रकम हस्तान्तरण गरिएकाले यस तर्फ कृषक आकर्षित हुँदै गएका छन् । पशुबिमा गरेपछी कुनै कारणले पशु मरेमा बीमा रकम कृषकलाई बिमा कम्पनीले दिने व्यवस्था गरेको भण्डारीको भनाई छ ।
जिल्लामा आ.व २०८०÷०८१ मा गाई, गोरु, झोपा,जुमा, चौरी, घोडा, खच्चड,भेडा,बाख्रा र गधा गरेर ९ सय ९९ पशुको विमा भएको छ । भने ४ सय ४९ विमित कृषक रहेका छन् । यो वर्ष १ सय १३० वटा गाई गोरु मरेका १ सय २६ कृषकले क्षतिपूर्ति पाएको शिखर इन्स्योरेन्स शाखा हुम्लाका प्रमुख गोरासिंह बोहराले बताउनुभयो ।
क्षतिपूर्ति रकम पाइने भएपछि किसानहरु अहिले पशु बीमासहित व्यवसायिक रुपमा पशुपालनतर्फ आकर्षित भएका छन् । बीमा गरेका किसानको पशु क्षति भइहालेमा क्षतिपूर्ति रकम उपलब्ध गराउन थालेपछि पशु बीमातर्फ किसानको आकर्षण बढेको हो । यस्तै सिमकोट गाउँपालिका–८ स्याडा गाउँका किरण बुढाले ८ वटा खच्चको विमा गर्नुभएको छ । स्थानीय बुढाले भन्नुभयो, पशु बिमा विषयमा अझैपनी जानकारी थिएन् । पछिल्लो समय पशु विमाको लागि शिखर इन्स्योरेन्स शाखा हुम्लाका कर्मचारी उपेश भण्डारी गाउँघर पुगेर पशु विमाको बारेमा सबै जानकारी गराएपछि अझ बढी किसानहरु आर्कषित भएको बुढाले बताउनुभयो । ग्रामीण भेगका दुरदराजका किसानलाई पर्याप्त रुपमा पशु विमाको बारेमा जानकारी भए विमितको संख्या बढ्ने देखिन्छ ।