सिमकोट । हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात भएको छ । हिमापात हुँदा अन्तरजिल्ला जोड्ने एक मात्रै हवाइ सेवा अवरुद्ध भएको छ । गएराती देखि हिमपात हुँदा नेपालगञ्ज र सुर्खेतबाट कुनै पनि जहाजले उडान भर्न नसकेका हुन् ।
लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको कृषक कर्ण बोहराले बताउनुभयो । यो पटकको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा समेत सहयोग पुगेको बोहराले बताउनुभयो ।
हिउँ नपर्दा चिन्तामा रहेका हुम्लाका किसानको मुहारमा महिनौपछि आएको हिउँले भने खुसी ल्याएको बोहराको भनाई थियो । खेतबारीमा लगाएका बाली सुक्न थालेको समयमा हिमपात र वर्षा हुँदा सहज भएको छ । स्याउ ओखरका बिरुवा मात्र नभएर खडेरीले सुक्न थालेको जेठासी बालीलाई पनि बचाएको उहाँको भनाइ छ ।
कात्तिके बाली लगाउन कठिन भइरहेको बेला यो पटक परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको किसान मुक्ति रावतले बताउनुभयो । किसानहरू खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए । लामो समयपछि हिमपात हुँदा स्थानीय र बालबालिका बिहानैदेखि हिउँमा रमाउन थालेका छन् ।
उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गार लगायतका उच्च भागमा बाक्लो हिउँ परेको लिमी स्वास्थ्य चौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । हिमपात सुरु भएसँगै लिमीमा चिसो अत्याधिक बढेको बोहराले बताउनुभयो । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ ।