ताँजकोट गाउँपालिकाले हटायो करार सेवाका कर्मचारी

Nepal Chek सोमबार, माघ २९, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । ताँजकोट गाउँपालिकाले यसअघि करार सम्झौतामा काम गर्दै आएका गाउँपालिका कार्यालय, गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने वडा कार्यालयका सबै करार सेवाका कर्मचारी, स्वास्थ संस्थाहरुका सबै करार सेवाका कर्मचारीहरु र विद्यालयहरुमा गाउँपालिकाको अनुदान अन्तर्गत सम्पुर्ण शिक्षक, विद्यालय कर्मचारी तथा बालबिकास सहजकर्ताहरुको म्याद थप नहुने सुचना निकालेर करार कर्मचारी हटाएको हो ।

गाउँपालिकाको अनुदानमा काम गर्दै आएका करार कर्मचारीलाई तलब, भत्ता दिन पालिकाको आम्दानी न्युन भएकाले फागुन १ गतेबाट सेवामा नवीकरण नगर्ने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले बताउनुभयो । २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिका भित्र रहेका सबै करार कर्मचारी हटाउने निर्णयलाई ताँजकोट गाउँपालिकाको १४ औं गाउँसभाले अनुमोदन समेत गर्ने निर्णय भएको अधिकृत श्याङ्कुले बताउनुभयो ।

गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै ४६ जना शिक्षक, २२ जना स्वास्थ्यकर्मीले सेवाबाट हट्नु पर्ने भएको छ । यस्तै वडा र गाउँपालिका कार्यालयमा कार्यरत करार कर्मचारी तथा कार्यालय सहयोगी समेत हट्नु पर्ने भएको छ । कर्मचारीहरूलाई आइतबार मात्रै करार अवधि नथप्नेबारे जानकारी गराइएको थियो ।

गाउँपालिकाको स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई समेत सेवाबाट हटाइएपछि स्वास्थ्य सेवा प्रभावित हुने भएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा वर्षौंदेखि काम गरिरहेका र राज्यले प्रसूति सेवालगायतमा तालिम दिएर लगानी गरेका कर्मचारीलाई सेवाबाट हटाइँदा राज्यको लगानी समेत खेर गरेको गुनासो गरिएको छ । यस्तै करार सेवामा कार्यरत शिक्षक हटाउँदा विद्यार्थीको पठनपाठनमा समेत बाधा पुग्ने भएको छ । यसरी गाउँपालिकाले एकै पटक ठुलो संख्यामा कर्मचारी हटाउँदा कामकाजमा समेत बाधा पुग्ने भएको छ ।

पुराना फाल्ने नयाँका लागि सूचना खोल्ने

ताँजकोट गाउँपालिकाले यसअघि करार सेवामा काम गर्दै आएका शिक्षा, स्वास्थ्य र वडा, गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी हटाएर नयाँ राख्ने आशंका गरिएको छ । पुरानालाई हटाउँदै नयाँ करार सम्झौताको सुचना खोल्नुका साथै आफ्नो मातहतका कर्मचारी नियुक्ती गर्नका लागि पुरानालाई हटाएको आफ्नो नाम नबताउने शर्तमा ताँजकोटका एक जनाले बताउनुभयो । यसरी एकै पटक ठूलो संख्यामा करार कर्मचारी हटाउँदा सेवामा बाधा पुग्ने भएको छ । त्यसको साथै राजनितीक नियुक्तीका लागि पुराना हटाएको उहाँले बताउनुभयो । केही दिनमा गाउँपालिकाले पुरानालाई हटाएपछि नयाँ करार सेवाका लागि सुचना बाहिर नल्याएपनि ढाकछोपमै राजनितीक आधारमा कर्मचारी नियुक्तिी हुन सक्ने ती व्यक्तिले बताउनुभयो ।

हुम्लाका स्थानीय तहमा राजनितीक भागबण्डा हावी

स्थानीय तहमा करार र ज्यालादारीका कर्मचारी राख्ने प्रतिस्पर्धात्मक र पारदर्शी विधि छ, कार्यसम्पादन चित्त बुझ्न नभए मूल्यांकनका आधारमा करार सेवा नवीकरण नगर्ने मापदण्ड पनि छ । तर, हुम्लामा पहुँच र प्रभावका आधारमा नयाँ कर्मचारी राख्ने र पुरानालाई फाल्ने प्रवृत्तिले स्थानीय तहको सेवा प्रवाह प्रभावित मात्रै भएको छैन, सरकारी ढुकुटीको दुरुपयोग पनि भएको छ ।

यस्तै यसअघि सर्केगाड र अदानचुली गाउँपालिकामा कराकर कर्मचारी नियुक्तिको विषयलाई लिएर विवाद चर्किएको थियो । सर्केगाड गाउँपालिकाको कार्यालय हप्ता दिनसम्म ताला लगाइएको थियो । हुम्लाका अन्य स्थानीय तहले आफु खुसी र राजनितीक भागबण्डाका आधारमा करार सेवामा कर्मचारी नियुक्ति गर्दै आएका छन् । जनप्रतिनिधिले मनपरी ढंगबाट आफन्तहरु भर्ना गर्ने गरेका छन् ।

जिल्लाका अधिकांस गाउँपालिकाले अहिलेको गठबन्धन सरकारको कांग्रेस र माओवादीका कार्यकर्ता करार सेवामा नियुक्ति गरिएको देखिन्छ । गठबन्धनको माओवादी र कांग्रेसको हुम्लामा बढी हावी भएकाले उनिहरुले आफु खुसी राजनितीक भागबण्डाका आधारमा कर्मचारी राख्ने र हाल्ने कार्य गर्दै आएका छन् । उसो त करार सेवाका कर्मचारी आवश्यकका लागि विज्ञापन खुलाएपनि राजनितीक भागबण्डा माओवादी र कांग्रेसकै हावी बढ्ने गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]