सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने भएको छ । बुधबार विहान सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय शुवास आलेको संयोजकत्वमा शैक्षिक क्यालेण्डर निर्माण समिति गठन गरिएको हो । बैठकले २०८१ बैशाख १ गते पालिका भित्र रहेका प्रत्येक विद्यालयमा पुग्ने गरी क्यालेन्डर प्रकाशन गरिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८१ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गर्ने तयारी भइरहेको शिक्षा शाखा प्रमुख कृष्ण आर्चायले बताउनुभयो ।
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकाल्ने भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो । बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम र पालिका भित्रका विद्यालयको तस्वीर र विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको शैक्षिक क्यालेण्डर प्रकाशन हुने भएको हो । यस्तै बाल दिवसको अवसर पारेर माध्यामिक तहका लागि बक्तीत्व कला, आधारभुत तहका लागि नृत्य समेटिएको क्यालेन्डर प्रकाशन हुने भएकोछ ।
विद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो बनाउन क्यालेन्डर बनाएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो ।