सिमकोट । यही चैत १५ गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा हुम्ला जिल्लाबाट एघार सय पन्चानब्बे जना परीक्षार्थी सहभागी हुने भएका छन् । सातवटा स्थानीय तह रहेको हुम्लामा ६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट ११ सय बढी बिधार्थी एसइइमा सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त इकाई प्रमुख भिमराज कार्कीले बताउनुभयो । परीक्षामा छात्रा ५ सय ८५, छात्र ५ सय ३ जना रहेका छन् । भने सात जना ग्रेडवृद्धि दिने गरेर ११ सय ९५ जना परीक्षार्थी सहभागी हुन लागेको इकाइ प्रमुख कार्कीले जानकारी दिनुभयो ।
जिल्लामा ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि र बालमन्दिर मावि, सर्केगार्ड गाउँपालिकाबाट हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडिकोट, अदानचुली गाउँपालिकाबाट सुर्योदय मावि श्रीनगर र ताँजाकोट गाउँपालिकाबाट मदानादेब मावि रहेका छन् । यता चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने केन्द्र छैन् ।
यस्तै बालमन्दिर माध्यामिक विद्यालयको परीक्षा केन्द्रबाट २ सय ५३, मानसरोवर १ सय ७२, हिमज्योती २ सय ६६, सूर्योदय १ सय ५६, मदनादेव २ सय ११ र कोट मावि रोडिकोटको परीक्षा केन्द्रबाट १ सय ३६ जना एसइई परीक्षार्थी सहभागी हुँदै छन् ।