सिमकोट । हुम्लाका ग्रामीण वस्तिमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा सम्वन्धि जनचेतना मुलक कार्यक्रमको सञ्चालन सुरु गरेको छ । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा बिमाको महत्व र उपयोगीताका बारेमा जनचेतना फैलाउन कार्यक्रम सञ्चालन गरिएको हो ।
बिमा प्राधिकरणले हुम्ला जिल्लामा बिमा सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जिम्मा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई दिएको छ । सोही अनुसार उक्त कम्पनीका अप्रेशन इन्चार्ज लोग भण्डारीले बिमाको महत्व दर्साएर सबैलाई बिमा गर्ने बातारण सृजना गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
अप्रेशन इन्चार्ज भण्डारीका अनुसार, मानिसको मृत्यु, दुर्घटना वा अन्त कहिले हुन्छ त्यसको एकिन नहुने भएको कारण त्यसको जोखिम बहन गर्ने माध्यम बिमा भएकोले पनि बिमा गर्न आवश्यक रहेको बताउनुभयो । बिमा आर्थिक क्षेती बिरुद्धको सुरक्षा भएको पनि जानकारी गरिएको थियो । त्यसैगरि कार्यक्रममा बिभिन्न जीवन बीमा योजनाको बारेमा समेत छलफल गरिएको थियो ।
जनचेतना मुलक कार्यक्रमबाट जीवन बिमाको महत्व, फाईदा, उपयोगिताका बारेमा जानकारी पाएको भन्दै स्थानीयले खुसि व्यक्त गरेका थिए । जीवन बिमाको बारेमा आजसम्म कुनै जानकारी प्राप्त नगरेका नागरीकको समेत उक्त कार्यक्रममा सहभागीता रहेको थियो । मानिसका लागि फाइदै फाइदा जीवन विमाबाट हुने भएको हुँदा सबैले जीवन बिमा गरेर सुरक्षित हुनु पर्ने भण्डारीले सुझाव दिनुभएको थियो । यस्तै सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी हुम्लामा ७ सय जना विमित रहेका छन् ।
उक्त जनचेताना मुलक कार्यक्रममा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शान्ती लामाले बिमा गर्नै पर्ने कार्य भित्र पर्ने भएको हुँदा ग्रामीण स्तरमा यस्ता कार्यक्रम बेला बेला सञ्चालन गरेर सेवाग्राहीलाई जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले बिमाबाट मानिसको बचत, सुरक्षाका साथै लगानीको पनि सुनिश्चितता हुने भएको कारण बिमा प्रति कसैले पनि नकरात्मक धारणा बनाउन नहुँने बताउनुभयो ।