सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका पशु शाखाले वडा–१ र २ मा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा–१ र २ मा निःशुल्क पशु स्वास्थ्य शिविरमा नौ सय पचास पशुको उपचार गरिएको छ । दुई दिनसम्म सञ्चालन भएको शिविर आज मङ्गलबार सम्पन्न भएको छ ।
शिविरमा भेडाबाख्रा, झोपा जुमा, गाई, घोडा खच्चर लगायतका पशुको निःशुल्क उपचार गरिएको गाउँपालिका पशु शाखाका नायब सुब्बा पशु स्वास्थ्य प्राविधिक बिष्णु बुमीले बताउनुभयो । शिविरमा निमोनिया, लुतो, जुका, उपिया जुम्रा, घाउखटिरा लगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको नायब सुब्बा बुमीले बताउनुभयो ।
भेडाबाख्रामा निमोनिया र लुतो तथा जुका सम्बन्धि समस्या देखिएको गुनासो आएपछि वडा–१ र २ को मुख्य ठाउँ ग्याग्रुमा पशु शिविर दुई दिनका लागि सञ्चालन गरिएको बुमीले बताउनुभयो । वडा–१ मा पर्ने ग्याग्रुमा पुगेर पशुहरुको स्वास्थ्य परिक्षण गरि लक्षणको आधारमा उपचार गरिएको उहाँले बताउनुभयो । यस्तै स्वस्थ पशुहरुलाई जुका, भिटामिन, दानापानी रुचाउने जस्ता औषधि निःशुल्क वितरण गरिएको बुमीले जानकारी दिनुभयो ।
पशु स्वास्थ्य शिविरको आवश्यकता भएका वडाहरुमा खबर गरे शिविर आयोजना गर्न आफुहरु जुनसुकै बेला तयार रहेको बताउनुभयो । पशु स्वास्थ्य शिविरमा ३१ प्रकारका औषधि लिएर गाउँमै पुगेर निःशुल्क वितरण गरिएको छ ।
पशु स्वास्थ्य शिविरमा तीन जना पशु स्वास्थ्य प्राविधिक र एक जना कार्यालय सहयोगी गरेर चारजनाको टोली शिविरमा परिचालित भएका थिए । शिविर केही दिनपछि गाउँपालिकाको उत्तरी वडा–७ र आठमा समेत सञ्चालन हुने भएको बताइएको छ । पछिल्लो समय जिल्लामा पशुहरुमा विभिन्न रोग देखा पर्ने गरेको जानकारी प्राप्त भएको छ ।