सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर एक दोजाममा रहेको चाङला हिमाल आधारभूत विद्यालयले लामो समयदेखि भवनको अभावै अभाव झेल्नु परेको छ । बालबाविकासदेखि कक्षा पाँचसम्म रहेको उक्त विद्यालयमा यतिबेला भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक राजु लामाले बताउनुभयो । प्रधानाध्यापक लामाले भन्नुभयो, “विद्यालयमा एउटै साँघुरो कोठामा दुई वटा फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ” । कक्षा दुई र तीनका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गर्नु पर्दा विद्यार्थीमा अलमल हुनुका साथै नबुझिने गरको विद्यार्थीको गुनासो छ । चार र पाँचका विद्यार्थी पनि एउटै कक्षामा राखेर पठनपाठन गर्नु पर्ने बाध्यता रहेको छ ।”
विद्यालयको भवनमा छ ओटा कोठामात्रै रहेका छन् । एउटामा कार्यालय कक्ष, अर्को एक कोठामा बालविकास, एक कोठामा कक्षा एकका र अर्कोमा कक्षा दुई, तीनका र बाँकी रहेको एक कोठामा चार, पाँच कक्षासम्मका विद्यार्थीलाई राखेर पठनपाठनको कार्य हुँदै आएको शिक्षक सन्जय फडेराले बताउनुभयो ।
एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गराउँदा उनीहरुमा बुझ्न समस्या हुने गुनासो गर्ने गरेको शिक्षक फडेराले बताउनुभयो । एउटै कोठामा फरक कक्षाका लागि शिक्षकले पढाउँदा विद्यार्थीलाई पढाएको कुरा बुझ्नसमेत निकै समस्या हुने गरेको छ । भवन अभाव हुँदा एउटै कोठामा दुई कक्षा सञ्चालन गर्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो । विद्यालय भवनका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गर्दा कसैले सित्तैमा दिन नमालेको उहाँको भनाई छ । भवन निर्माणका वडा र गाउँपालिकालाई पहल गरि दिन शिक्षक फडेराले आग्रह समेत गर्नुभएको छ ।
कक्षा एकमा छात्रछात्रा गरी ३३, दुईमा ४, तीनमा ८, कक्षा चारमा ४ र कक्षा पाँचमा ३ जना गरी ५२ जना विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्दै आएका छन् । बालबिकासका गरी झण्डै ७० जना विद्यार्थी पुग्नुका साथै उक्त विद्यालयमा पठनपाठन गर्दै आएको यहाँका शिक्षकले बताउने गरेका छन् । प्रधानध्यापक लामा सहित चार जना स्थायी शिक्षक कार्यरत छन् भने दुई जना कार्यालय सहयोग कार्यरत छन् ।