सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्न प्रत्येक वडाहरुमा अनुगमन सम्पन्न गरेको छ । गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीका अनुसार, एक देखि आठवटै वडामा खोप पाउनु पर्ने १६ महिनादेखि माथिका पाँच वर्ष मुनिका बालबालिकाले खोप पाए नपाएको दुई समुहमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु विभाजीत भएर अनुगमन गरिएको बताउनुभयो ।
आइतबार सुरु भएको अनुगमन सोमबार सम्पन्न भएको छ । वडा नम्बर एक दोजाम, दुई ठेहे र तीन बरगाउँ गाउँमा गाउँपालिका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष सुशिला रोकाया (भाम)को नेतृत्वमा जिल्ला समन्वय समिती कार्यावाहक प्रमुख सरीता रावत, स्वास्थ्य सेवा कार्यालयका अनमी गीता लामा, गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अनमी अजिता देवकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव नन्द सिंह, रेडियो कर्णाली आवाजका समाचार संयोजक तथा रासस हुम्ला संवाददाता दाने बोहरा लगायतको सहभागीता रहेको थियो । यस्तै वडा नम्बर सात र आठमा गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अनमी मनमाया वली, नेपाल टेलिभिजन हुम्लाका संवाददाता नरजान तामाङ र रेडियो कैलाशका ओवराज शाहीले अनुगमन गरेका थिए ।
एक देखि आठ वडासम्म ६ जना बालबालिका विभिन्न खोप लगाउन छुटेका छन् । वडा नम्बर एकमा एक जना बाललीका दादुरा रुवेला विरुद्धको खोप लगाउन छुटेका छन् । खोप लगाउने समयमा ती बालिकालाई ज्वरो आएका कारण खोप छुटेको स्वास्थ्यकर्मीले बताएका छन् । यस्तै वडा नम्बर दुई ठेहेमा एक बालक र दुई बालिका गरेर तीनजना बालबालिका पनि दादुरा रुवेला विरुद्धको खोप लगाउन छुटेका छन् । नारण बोहरा र राजकन्या परियार ज्वरो आएका कारण उक्त खोप लगाउन छुटेका हुन् भने डल्ली परीयारका परिवारले खोप लगाउने समय थाहा नपाएर छुटेको बताएका छन् । यस्तै वडा नम्बर एक चिमिक गाउँमा घर भइ हाल वडा तीन लिमाटाङमा बसोबास गर्दै आएकी जम्लीङ कार्मु लामाले भने दादुरु रुवेला, डिपडी, पिसिभी खोप नलगाएको पाइएको छ । यस्तै वडा नम्बर आठ सातामा पनि एक जनाले दादुरा रुवेला विरुद्धको खोप लगाउन छुटेको बताइएको छ ।