सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई वस्ति र सिमकोट गाउँपालिकाको एक वस्ति गरी तीनवटा वस्ति आइतबारदेखि अन्धकारमा छन् । नाम्खा गाउँपालिका वडा नम्बर ३ को लामाखोल्सी, खगालगाउँ र सिमकोट गाउँपालिका वडा नम्बर आठ खोल्सी गाउँ गरी तीन वस्तिमा विद्युत सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्दै आएका छन् । लामाखोल्सी र खगालगाउँ विचको खोलामा रहेको पावर हाउसमा बत्ती मेसिनको फिता चुडिदा विद्युत सेवा अवरुद्ध भएको हो ।
फिता चुडिएर विद्युत सेवा अवरुद्ध भएसँगै तीन वस्तिका झण्डै दुई सय ८० घरधुरीका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएको नाम्खा गाउँपालिका वडा नम्बर तीन खगालगाउँ गाउँका स्थानीय रिक्जिन लामाले बताउनुभयो । आइतबार साँझ अचानक पावरमा रहेको फिता चुडिदा यहाँका तीनवटा बस्तीका सेवाग्राही अन्धकारमा बस्नु परेको लामाले बताउनुभयो ।
खगालगाउँमा ९०, लामाखोल्सीमा ३० र सिमकोट गाउँपालिका वडा नम्बर आठको खोल्सी गाउँमा एक सय ६० घरधुरी रहेका छन् । भने उनिहरु सबै अन्धकारमा बस्दै आएको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताउनुभयो । चुडिएको फेता मर्मतका लागि पहल भइरहेको उपाध्यक्ष लामाले बताउनुभयो । यी तीन बस्तिका दुई सय असी घरधुरी अन्धकारमा बस्दै आएको उहाँले बताउनुभयो ।
यहाँका तीन वस्तिका लागि २८ किलोवाट क्षमता भएको छोइपुग लघु जलविद्युत आयोजना उत्पादन हुँदै आएको उपाध्यक्ष लामाको भनाई छ । विद्युत सेवा अवरुद्ध हुँदा विद्युतीय माध्यमबाट सञ्चालन हुँदै आएका सम्पुर्ण कार्य प्रभावित भएको छ । विद्युत नहुँदा यहाँका स्थानीयले उहि पुरानै सल्लाहको दियालो(झरो)को प्रयोग गर्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । उक्त क्षेत्रमा हिल्दुम जलविद्युतको बत्ती लाइन विस्तार हुन सकेको छैन् ।