सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयले विद्यालय परिसरमै विद्यार्थीका लागि च्याउ बनाउन प्रयोगात्मक अभ्यास गराउँदै आएको छ । मानसरोवर माध्यामिक विद्यालयमा कृषि प्राविधिक धारअन्तर्गतका कक्षा नौ र दशका विद्यार्थीलाई च्याउ बनाउन प्रयोगात्मक अभ्यास गराइदै आएको सोही विद्यालयका सहायक कृषि प्रशिक्षक चीन बोहराले बताउनुभयो । नौ र दशमा अध्ययनरत विद्यार्थीले च्याउ उत्पादन गरी विक्री गरेर राम्रो आम्दानी हुँदै आएका प्रशिक्षक बोहराले बताउनुभयो ।
विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि च्याउखेती सुरु गरेको छ । विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी पाँच सयदेखि ६ सयमा बिक्री वितरण हुँदै आएको शिक्षक बोहराले बताउनुभयो । विद्यार्थीले उत्पादन गरेर विक्री भएको च्याउको रकम विद्यालयको आन्तरिक श्रोतमा खर्च हुँदै आएको बताइएको छ । विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको बोहराले बताउनुभयो ।
एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउखेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको मानसरोवर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले बताउने गरेका छन् । विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानसमेत आर्जन गर्न पाएकाले भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थीले बताउने गरेका छन् ।
विद्यार्थीले उवा, गहुँ, फापर र धानको परालबाट च्याउ उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । प्रति प्योकटमा झण्डै तीन, चार केजी तौल हुने गरेको छ । विद्यार्थीले खेती गरेको च्याउ उत्पादन हुन २१ दिन लाग्ने गरेको बोहराले बताउनुभयो । २१ दिनपछि लागि बजारमा विक्रीका लागि लिन सकिने भएको उहाँले बताउनुभयो ।