सिमकोट । एक मात्र रहेको जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने विरामी मर्कामा परेका छन् । मौसमी विरामीको संख्या बढ्दै गएपनि हुम्लाको जिल्ला अस्पतालमा औषधीको अभाव छ । १५ शैयाको जिल्ला अस्पतालमा वैशाख महिना यतादेखि औषधी अभाव हुँदा उपचार गर्न आउने विरामीहरु मर्कामा परेका हुन । डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर सेवन गर्न बाध्य भएको बिरामीहरूको गुनासो रहेको छ । पानी नपर्दा यो समय जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । रुघाखोकी, झापापखाला लगायतका सबै खाले विरामी उपचारका लागि जिल्ला अपतालमा पुग्दा उपचारपछि औषधि वितरण कक्षमा औषधि नपाउने गरेको सेवाग्राहीको गुनासो छ ।
जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधी समेत पाउन नसकेको खार्पुनाथ गाउँपालिका–३ रायाका धन बहादुर टमटाको गुनासो छ । आफु बहिनिको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा रहेपनि डाक्टरको लेखिदिएको अनुसारको औषधी मेडिकलबाट किनेर लगेको बताउनुभयो । चार हजारसम्मको औषधि निजि मेडिकलबाट किनेको र भिटामीनको औषधि समेत नभएको टमटाले गुनासो गर्नुभयो ।
चेकजाँच पछि औषधि लिन जाँदा जिल्ला अस्पतालको औषधि वितरण कक्षमा औषधि नपाएर सेवाग्राही फिर्ता हुन्छ । डाक्टरले लेखेको औषधी जिल्ला अस्पातलमा नपाउँदा निजी मेडिकलमा जानुपर्ने बाध्यता छ । निजि मेडिकलमा औषधि किन्नको लागि आर्थिक अवस्था कम भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका झप्रि सुनारको गुनासो छ । जिल्ला अस्पतालले निःशुल्क दिने औषधि समेत नपाएको उहाँको गुनासो छ । डाक्टरले विरामी पुर्जामा औषधि लेखि दिएपनि औषधि वितरण कक्षमा औषधि नभएको भनेर निजि मेडिकलमा खरिद गर्न पठाउने गरेको उहाँको भनाई छ ।
वैशाख महिना यतादेखि जिल्ला अस्पतालमा विरामीको चाप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जन कुमार सिंहले बताउनुभयो । आइतबार र सोमबारका दिन ८० जनासम्म विरामी पुग्छन भने अन्य दिनमा ५० जना भन्दा कम नहुने डाक्टर सिंह बताउनुहुन्छ । लामो समय हुम्लामा पानी नपर्दा मौसमी विरामीको चाप थपिदै आएको उहाँको भनाई छ । गाउँघरबाट एक दुई दिनको पैदल हिडेर समेत सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि विरामी आउने गरेको डाक्टर सिंहले बताउनुभयो ।
फेरि डाक्टर सिंह भन्नु हुन्छ जिल्ला अस्पतालमा औषधिको चरम अभाव छ । इमर्जेन्सीमा आकश्मि सेवाका लागि भर्ना भएका विरामीले समेत उल्टि रोक्ने लगायतका औषधि नभएको समस्या आफुले भोगेको बताउनु हुन्छ । विरामीलाई अति आवश्यक पर्ने औषधि पनि नभएको डाक्टर सिंह बताउनुहुन्छ । आकश्मिक कक्षमा औषधि अभावको समस्या आफुले प्रत्यक्ष डाक्टर सिंहले बताउनुभयो । ओपिडीमा त औषधि अभावको समस्या छदैछ तर आकश्मिक कक्षमा समेत औषधिको अभाव छ ।
अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंह सुइकार गर्नुहुन्छ । जहाज नचल्दा खरिद गरेर हुम्ला पुग्ने औषधि नेपालगञ्जमा थन्किएको प्रमुख सिंहको भनाई छ । अबको एक दुई दिनमा जहाज सुचारु भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर हुम्ला आइपुग्ने प्रमुख सिंहले बताउनुभयो ।
गाँउमा भएका स्वास्थ्यचौकीमा औषधी पाउन मुस्किल हुन्छ । अस्पातलमा पुग्दा राम्रो औषधी र डाक्टरको चेक जाँचको आशामा विरामी पुग्छन । डाक्टरबाट चेकजाँच पाएको भएपनि डाक्टरले लेखेको औषधी नपाउँदा सेवाग्राही विरामी रित्तो हात लिएर फिर्ता हुन बाध्य छन् । जिल्ला अस्पतालमै औषधिको चरम अभावको समस्या समाधान चाडो गर्न आवश्यक छ ।