सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर सात डाडाफयाँ स्वास्थ्यचौकीले सार्वजनिक सुनुवाई गोष्ठी सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको हो । स्वास्थ्य व्यवस्थापन समितिका संयोजक रुप्सी सुनारको अध्यक्षतामा र कार्यपालिका सदस्य टसी विकको प्रमुख आथित्यतामा गोष्ठी सम्पन्न भएको हो ।
डाडाफयाँ स्वास्थ्यचौकीले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक लक्ष तथा कार्य प्रगति लगायत कार्य सञ्चालनको सार्वजनिक सुनुवाई गरेको हो । उक्त स्वास्थ्यचौकीमा १७ जना महिला सुत्केरी भएको र २५ जना महिलाले गर्भ जाँच गराएको स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले बताउनुभयो । यस्तै दुईवटा स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेका जटिल खालका सुत्केरी व्यथा लागेकी महिलालाई सदरमुकाममा रहेको जिल्ला अस्पतालमा रिफर गरिएको स्वास्थ्यचौकी इन्चार्ज बोहराले बताउनुभयो । यस्तै उनिहरुलाई स्वास्थ्यचौकीमा सुत्केरी भएवापतको पाउन पर्ने रकम पनि उपलब्ध समयमै गराएको उहाँले बताउनुभयो । एक जना महिलालाई चार हजारका दरले उपलब्ध गराइएको हो । यस्तै चारपटक स्वास्थ्यचौकीमा गर्भजाँच गराए वापतको र प्रदेश कोशेली वापत रु २५ सय उनिहरुलाई समयमै उपलब्ध गराइएको थियो ।
त्यसैगरी उक्त स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०८०।०८१ म एक हजार एक सय ८५ जना सामान्य खालका विरामीलाई स्वास्थ्यचौकीबाट उपचार गरिएको इन्चार्ज बोहराले बताउनुभयो । एक जना बालकलाई काठमाण्डौंको बनेपा स्थित अपांग अस्पतालमा रिफर गरिएको हो । २३ महिना मुनिका बालबालिकालाई पाँच सय पचासी पटक लिटो वितरण गरिएको बोहराले जानकारी दिनुभयो । १७ जना लाई विसिजी खोप समेत लगाएको बताइएको छ ।
डाडाफयाँ स्वास्थ्यचौकीले आयोजना गरेको वसार्वजनिक सुनुवाई गोष्ठीमा गाउँका जानमान, भद्रभलामी, बुद्धिजिवी लगायतको उपस्थित रहेको जानकारी प्राप्त भएको छ ।