सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट शनिबार सुत्केरी व्यथा लागेकी गर्भवती एक जना महिलाको उद्धार गरिएको छ । वडा नम्बर ६ को लौँठी गाउँकी ३१ वर्षीया लक्ष्मी बुढालाई सुत्केरी शुक्रबार सुत्केरी व्यथा लागेर लौँठी स्वास्थ्यचौकीमा पुर्याइएपनि उपचार सम्भव नभएर अवस्था जटिल देखिपछि शनिबार हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो । सुत्केरी व्यथाले छटपटिएकी बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताउनुभयो । व्यथाले च्यापेको अवस्थामा गर्भवती बुढालाई स्वास्थ्य चौकीमा ल्याएको भएपनि सुत्केरी गराउन नसकिने अवस्था भएर जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीको सिफारिसमा जिल्ला बाहिर रिफर गरिएको संयोजक भण्डाराले बताउनुभयो ।
यसका लागि सहजीकरण स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो । बुढालाई विभिन्न ठाउँमा पहल गरेर समयमै उद्धार भएको अधिकृत महताराले बताउनुभयो । हेलिकोप्टरले उद्धार गरेको भाडा राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने भएको उहाँले बताउनुभयो । जिल्लाका अधिंकास महिलाले सुत्केरी व्यथा लागेर ज्यानको जोखिम मोलिरहेका महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमले बचाउँदै आएको छ । अझै ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकहरु सुविधा सम्पन्न नहुँदा यहाँका महिलाले गर्भवती अवस्थामा मृत्युसँग लडि रहनु पर्ने बाध्यता जस्तै बनेको छ ।