सिमकोट । पत्रकार महासंघ हुम्ला शाखाका लागेको ताला पचास दिनमा खुलेको छ । केन्द्रमा नेपाल पत्रकार महासंघ र प्रेश युनियनबिच सदस्यता बिबाद टुङ्गो लगाउने सहमति भएपछि यसअघि जिल्लामा लगाउदै आएको ताला खुलेको छ । पचास दिन अगाडी देखि महासंघ हुम्ला शाखाको कार्यालयमा लाग्दै आएको ताला खुलेको प्रेश युनियन हुम्लाकी उपाध्यक्ष छपाल लामाले बताईन ।
उनले पत्रकार महासंघ जिल्ला शाखा हुम्ला शाखाले सिफारिस गरेका सदस्यहरुलाई हटाएको र प्रदेशले आफ्नो किसिमले थपेको कारण प्रेश युनियनले शाखाको कार्यालयमा ताला लगाएको बताईन । यसको बिरोध गर्दै प्रेश युनियनले गत जेठ १४ गते शाखाको कार्यालयमा ताला लगाएको थियो । उनले केन्द्रमा महासंघ र प्रेश युनियनबिच हटाईएका सदस्यको नाम थप्ने, जिल्ला सिफारिस गरेका सदस्यहरुलाई कायम गर्ने सहमति भएपछि जिल्लामा लगाईएको ताला खोलिएको बताईन ।
महासंघ हुम्लाका अध्यक्ष राजन रावत र सचिव नन्द सिंहको उपस्थितीमा प्रेश युनियनकी उपाध्यक्ष लामाले ताला खोलेकी थिईन । अब केही दिनमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन तालिका र सदस्यहरुको नामावली सार्वजनिक गर्ने भएको छ । महासंघ हुम्ला शाखाले ३२ जना पुराना सदस्यहरुको नविकरण गर्ने र एघार जना नयाँ सदस्यहरुलाई सदस्यता दिने सिफारिस गरेको थियो । त्यसका महासंघ कर्णाली प्रदेशले आफु खुसी तीन जना सदस्यहरु महासंघ जिल्ला शाखालाई जानकारी दिनै थपेको थियो । महासंघ प्रदेशको सो कदमको बिरोध जिल्लाले गर्दै आएको छ ।