काठमाडौं । नेपालले काठमाडाैंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज इरानको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार साँझ ५ः१५ बजेदेखि यो खेल हुने छ ।
जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल गरेको छ । नेपालले शनिबार सम्पन्न यो खेलमा भारतमाथि ३-२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसपछि पहिलो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो ।आजको खेलपछि नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५:१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।