सिमकोट । बुधबार बिहान हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जना थप उपचारका लागि जिल्ला बाहिर उद्धार गरिएको छ । दुर्घटनामा परेका चालक सहित तीन जनालाई दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । बुधबार बिहान ८ बजे चंखेली गाउँपालिकाको दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटनामा परेको थियो ।
गम्भीर घाइते भएका चंखेली गाउँपालिका–२ सुरेन्द्र बहादुर शाही तिलबहादुर शाही र रारा छायानाथ नगरपालिका–१३ का रमेश मल्ल रारा छायानाथ–१ का पृथ्वी राउतलाई सिम्रिक एयर हेलिकप्टरबाट उद्धार गरि प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । उद्धार गरिएका घाइतेहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । गाउँमा रहेका स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला सुविधासम्पन्न अस्पतालमा पठाइएको छ ।
यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह, १५ वर्षिय रविन शाही र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाहीको अवस्था सामान्य रहेको छ । उनिहरुको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिनुभयो ।
गौरी सल्ला स्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ । दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने स्थानीय खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको जानकारी प्राप्त भएको छ ।
कर्णाली प्रदेश ०२– ००१च ०९२२ बोलेरो जीप बुधबार विहान आठ बजे दुर्घटनामा परेको थियो । चार जना गम्भीर घाइतेलाइ उद्धार गरि सुर्खेत लगिएको छ । बिरामीको उद्धार खर्च चंखेली गाउँपालिकाको विपद कोषबाट खर्च तिर्ने गाउँपालिका श्रोतले जनाएको छ । उद्धार खर्च ५ लाख २० हजार रहेको जानकारी प्राप्त भएको छ ।