सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ को खच्चामा पर्ने कर्णाली राजमार्ग अन्तरगतको अवरुद्ध सडक खण्ड नेपाल प्रहरी र स्थानीय मिलेर खुलाउन थालेका छन् ।
केही दिन यता परेको निरन्तरको अविरल वर्षाले सडकमा पहिरो जानुका साथै सडक अवरुद्ध भएपछि खुलाउन कसैले चासो नदिएपछि नेपाल प्रहरी लागी परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कर्णाली कोरिडोर अवरुद्ध भएर सवारी साधन रोकिरहेको अवस्थामा तुम्च प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली र यहाँका स्थानीय मिलेर सडक खुलाउने कार्यमा लागि परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दे बताउनुभयो । लामो समयसम्म सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि प्रहरी आफै सडक खुलाउनमा लागि परेको हो ।
जिल्लामा रातीको समयमा निरन्तर पानी परिरहेका कारण खच्चा सडक खण्ड दुई हप्तादेखि अवरुद्ध हुँदा मालबाह सवारी साधन आवतजावतमा रोकिएका थिए । सडक भाँसिनुका साथै पहिरो गएका कारण सवारी साधन आउजाउ बन्द हुनुका साथै मालबाहक ट्रकहरुले ओहरदोहर गर्न नसकेको बताइएको छ । प्रहरी र स्थानीय मिलेर अवरुद्ध सडक खुलाएपछि सवारी साधन सञ्चालनमा आउने भएका छन् ।
यस क्षेत्रका सडक वर्षेनी अवरुद्ध हुँदा राजमार्ग नै अवरुद्ध हुने गरेको छ । खच्चमा सुख्खा पहिरो जाने माटो मात्रै भएकाले हरेक वर्ष उक्त सडक भाँसिन्दै जाने गरेको स्थानीयले बताउने गरेका छन् । खच्चाको सडक स्थायी मर्मत गर्न राज्यले चरम बेवास्ता गरेको छ । मर्मतमा सरकारले बेवास्ता गर्दा नागरिकले सास्ती खेप्नु परेको छ ।