सिमकोट । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी हुम्लाका महिलाले मनाएका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सोही अनुसार हुम्लाको सदरमुकाम सिमकोट सहित जिल्लाभरका महिलाले पुजापाठ गरेर तीज पर्व मनाएका छन् । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय तीज पर्वले निकै रौनकता दिदै आएको छ ।
सिमकोट गाउँपालिका वडा नम्बर पाँच तल्लो गाउँमा रहेको शिवको मन्दिरमा तीजको दिन बिहानैदेखि मन्दिरमा ब्रतालुहरू गएर नाच गान गर्दै रमाइलो गरेका थिए । सदरमुकाममा बसोबास गर्दै आएका महिलाहरु विहानै देखि शिवको मन्दिरमा पुगेर पुजापाठ गरेका हुन् । भने खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचमा रहेको शिवको मन्दिरमा समेत आसपासका महिला पुगेर पुजापाठ गरी रमाइलो गरेको जानकारी प्राप्त भएको छ । यस्तै जिल्लाभर रहेका शिवालयमा महिलाहरु पुगेर पुजापाठ गरेका हुन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय विश्वास छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।