सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका –७ ओखरेनको पातिहाल्नमा रहेको नमस्ते टेलिफोन सेवा र फोरजी सेवा २४ सै घण्टा सुचारु गर्नका लागि विद्युत सेवा जडान कार्य शनिबार सम्पन्न भएको छ ।
असोज ६ गतेबाट पातिहाल्नमा विद्युत सेवा जडान कार्य सुरु गरेपनि आजसम्पन्न भएको नेपाल विद्युत प्राधिरकण कार्यालय हुम्लाले जनाएको छ । असोज महिनाको पहिलो हप्ता विद्युत सेवा जडानका लागि टासमिटर सुर्खेतबाट गाडीमार्फत पैदल भएर सिमकोट पुगेको थियो । सिमकोट पुगेको टासमिटर लग्गतै ट्याक्टर मार्फत पातिहाल्नमा पुर्याएर जडान कार्य सुरु गरिएको थियो ।
विद्युत सेवा जडान भएपछि यहाँका सेवाग्राहीले नियमीत २४ सै घण्टा सेवा पाउने भएको भएको नेपाल टेलिकम शाखा हुम्लाले जनाएको छ । यसअघि यस क्षेत्रमा रहेको टावरले दश घण्टा घाम लागेको समयमा काम गर्दै आएको थियो । यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरीकले टेलिफोन र फोरजीको हैरानी खेप्दै आएका थिए । घाम लागेको समय विहान दश र साँझ पाँच बजेसम्म काम गरेपनि अन्य समय बन्द हुँदै आएको थियो । विद्यूत सेवा जडान भएसँगै यहाँका सेवाग्राही २४ सै घण्टा लाभाविन्त हुने भएका छन् ।
उक्त स्थानमा रहेको टावरले नाम्खाका तीन वटा वडा र सिमकोटका दुई वटा वडामा सेवा प्रवाह गरिरहेको छ । नाम्खा गाउँपालिकाका–वडा नम्बर १,२,३ र सिमकोट गाउँपालिकाको ७, ८ नम्बर वडाका नागरिकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् । टावर नियमित सञ्चालन गर्नका लागि विद्युत सेवा जडानका लागि सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) लगायतले पहल गर्नुभएको थियो ।