सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका– ७ डाडाफयाँका पशुवस्तुमा अज्ञात रोगको संक्रमण देखिन थालेको छ । केही दिन यतादेखि डाडाफयाँ, थाया, जबुका, गाउँ लगायतका पशुवस्तुमा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् ।
यहाँ रहेका जुमा र झोपामा घाँस नखाने, र्याल छोड्ने लगायतका रोग देखिन थालेको स्थानीय डबल सिंहले बताउनुभयो । आफ्ना लगायत अन्य गाउँका आठ, दशवटा जुमा, झोपामा यो लक्षणको रोग देखिएको स्थानीय सिंहको भनाई छ । हालसम्म दुई वटा झोपा अज्ञात रोगले मरेका छन् । झोपाको मूल्य आजभोली रु ८० हजारसम्म पर्ने गरेको छ । खेत जोत्नका लागि पालिएका झोपामा रोग देखिएर मरेपछि ठूलो नोक्सानी हुने यहाँका किसानले गुनासो पोखेका छन् ।
अज्ञात रोगले झोपा मर्न थालेपछि धनजनको क्षति हुनुका साथै अर्को तर्फ खेतजोत पनि ठप्पै हुने सिंहको गुनासो छ । तिहार विदा भएपनि सोमबार पशु अस्पताल तथा पशु सेवा कार्यालय सिमकोट पुगेर औषधि लिएर गाउँ फिर्ता भएको उहाँले बताउनुभयो ।
डाडाफयाँमा फैलिएको अज्ञात रोगका विषयमा पशु अस्पताल तथा पशु सेवा कार्यालयमा जानकारी लिँदा पशुवस्तुमा लागेको रोग प्रष्ट पहिचान हुन नसकेको कार्यालयले जनाएको छ । तिहार विदामा पनि कार्यालयमा औषधि माग्न पुगेका किसानले भनेको आधारमा औषधि यहाँ पठाएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख कृष्ण रोकायाले बताउनुभयो । विदाको समय भएपनि किसान औषधि माग्न पुगेपछि आफुले औषधि दिएर पठाएको निमित्त कार्यालय प्रमुख रोकायाले बताउनुभयो । गाउँमा रोग फैलिएपनि विदाको समय भएकाले कुन रोग देखिएको हो प्रष्ट हुन नसकेको बताइएको छ ।
निमित्त कार्यालय प्रमुख रोकायाका अनुसार, किसानले पशुवस्तुमा देखिएको रोगको उपचारका लागि प्राविधिक खटाइ दिन आग्रह गर्न सिमकोट गाउँपालिकामा जानु पर्ने बताउनुभयो । पशु कार्यालयमा त्यति धेरै बजेट नहुँने भएकाले पछिल्ला वर्षमा औषधि खरिद लगायतको सबै बजेट पालिकामा जाने भएकाले प्राविधिक र औषधि मागका लागि किसान गाउँपालिका जानु पर्ने उहाँको भनाई थियो ।
पशुवस्तुमा देखिएको रोग र औषधिको अवस्थामा गाउँपालिका पशु शाखामा बुज्न खोज्दा सम्र्पक हुन नसकेको हो । पालिका भित्र रहेका पशु वस्तुमा देखिने रोग र रोकथामका साथै पशु क्षेत्रमा सिमकोटले बजेट छुट्याएपनि यहाँका किसानले वर्षेनी पशु वस्तुमा देखिने विभिन्न रोगले पशु मर्दा ठुलो नोक्सानी व्यहोर्दै आएका छन् । अहिलेसम्म औषधि समेत गाउँपालिकाबाट नपाएको गुनासो पोखेका छन् । –