सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी हुनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी उम्मेदवार तिमिल्सिनाले ४३ मतको अन्तरले विजयी हुनु भएको हो ।
सर्केगाडमा जम्मा ६ हजार आठ सय १० मतदाता रहेकामध्ये ४ हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले १ हजार ६ सय ३७ मत ल्याएर विजय हासिल गर्नुभएको हो । उहाँकी निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सबिता बुढाले १लहजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले १ हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेद्वार नरेश शाहीले ९ मत प्राप्त गर्नुभया । खसेका मतमध्ये ७८ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गरेको छैन ।
२०७९ सालमा कांग्रेस र माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए । त्यसबेला गठबन्धनबाट कांग्रेसका रोकाया अध्यक्ष र माओवादीका चन्द्रसिंह कार्की उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उपाध्यक्ष कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत पाउनु भएको थियो । एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर उपविजेता भएकी हुनु भएको थियो ।
अध्यक्षमा कांग्रेसका रोकाया ३ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत पाउनु भएको थियो । आठ वडामध्ये माओवादी तीन, कांग्रेस दुई, एमाले दुई र एक वडा स्वतन्त्रले जत्ुिन भएको थियो ।
२०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो । त्यसबेला १ हजार ९ सय २० मतका साथ माओवादीका कृष्ण रोकाया विजयी हुँदा कांग्रेसका मंगलबहादुर शाही पराजित हुनु भएको थियो । शाहीले १ हजार ७ सय ७५ मत प्राप्त गर्नुभएको थियो । २०७४ र २०७९ मा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा हुँदै आएको छ ।