सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचित लिमीको जाङ गाउँमा बसाइँसराइको असरले गाउँ रित्तिएको छ । एक वर्ष अघि चार घरधुरीको बसोबास रहँदै आएको जाङ गाउँ यो वर्ष खाली भएर शून्य रहेको छ । जाङ गाउँका स्थानीयले सुविधाको खोजीमा काठमाण्डौ, सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा बसाइँसराइ गरेर जान थालेपछि गाउँ रित्तिँदै गएको हो ।
यो वर्ष जाङ गाउँमा कोही पनि नभएको तील गाउँका वडा सदस्य तुन्डुप लामाले बताउनुभयो । कोरोनामा बन्द रहेको चीनसँगको हिल्सा नाका खुलेपछि कोही रोजगारीका लागि चीन ताक्लाकोट पुगेका छन् । भने बढी जसो जाङ गाउँका स्थानीय सिमकोट सहित जिल्ला बाहिर रहेका सुविधा सम्पन्न शहरमा बसाइँसराइ गरेर गएका कारण गाउँ नै खाली भएको वडा सदस्य लामाले बताउनुभयो ।
विगत तीन, चार वर्ष यतादेखि गाउँ छोड्ने क्रम वर्षेनी बढिरहेको अवस्थामा यसपटक गाउँ नै खाली गरेर स्थानीय शहर केन्द्रित भएका हुन् । गाउँलेलाई गाउँमै रोक्ने उपायको खोजी गर्न गाउँपालिकाले आवश्यक पहल लिनु पर्ने बताइएको छ । हरेक वर्ष हिउँद याममा खाली हुने जाङ गाउँ यो वर्ष गाउँ नै शून्य बनाएर स्थानीय शहर केन्द्रित भएका छन् ।
दुई वर्ष यतादेखि गाउँपालिकाले यहाँका नागरीक विरामी हुँदा उपचारका लागि हिउँदयाम सहित बाह्रै महिना लिमी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी खटाएपनि जाङ गाउँका स्थानीयले गाउँ छोडेर शून्य बनाएको बताइएको छ । हल्जी र तील गाउँका लागि स्वास्थ्य सेवा बाह्रै महिना उपलब्भ हुँदै आएको लिमी स्वास्थ्यचौकीका अहेब स्वास्थ्यकर्मी लोग बोहराले बताउनुभयो । जाङ गाउँको भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द रहेको छ । गाउँमा कोही नभएपछि गाउँमै रहेको विद्यालय समेत बन्द हुन पुगेको छ ।
गाउँ छोडेर बसाइँसराइ गरेर जाने समस्या जाङ गाउँको मात्रै नभएर तील र हल्जीमा पनि यो समस्या विस्तारै देखिँदै आएको हल्जी गाउँका स्थानीय छिरिङ तुण्डुप लामाले बताउनुभयो । यो वर्ष तील गाउँमा १५ घरधुरीको मात्रै बसोबास रहेको स्थानीय लामाको भनाई छ । हल्जी गाउँमा भने सबै यतै रहेको उहाँको भनाई थियो । हिउँदका महिनामा कोही चिसो छल्न जिल्ला बाहिर गएपछि वर्षायाममा घर फिर्ता हुने गरेका छन् । हल्जी युवा रोजगारीका लागि गाउँ छोडेपनि वर्षायाममा घर फिर्ता हुने गरेको बताइएको छ ।
सुविधाका लागि यातायात, विद्युत, गुणस्तरी शिक्षालगायतका पहुँच नहुँदा लिमीका केही गाउँ विस्तारै रित्तिदैँ आउन थालेका छन् । गाउँ छाड्नु आफूहरुको रहर नभइ बाध्यता भएको स्थानीयले बताउने गरेका छन् ।