हुम्लामा मनाइयो भुवो पर्व

Nepal Chek सोमबार, पौष १५, २०८१

सिमकोट । हुम्लाका विभिन्न गाउँ बस्तीमा आइतबार राती भुवो पर्व मनाइएको छ । आइतबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, चंखेली, अदानचुली, ताँजकोट गाउँपालिकामा रहेका विभिन्न गाउँवस्तिमा मनाइएको हो । जिल्लाका अधिकांश गाउँपालिकामा आ–आफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान (भुवाखाडो)मा जम्मा भई भुवो नाच, फाक, चाँची, गीत गाएर रातभरि जाग्रम बस्ने चलन छ । हिउँदमा खेतीपातीबाट फुर्सद हुने समय भएकाले भुवो पर्व हुम्लाका सबै गाउँमा परापूर्वकालदेखि मनाउने चलन छ । । यो पर्वमा सबैले मीठामीठा खानेकुरा एकआपसमा बाँडीचुँडी खाने परम्परा छ ।

ठेहे गाउँका लागि भुवो पर्व विशेष

जिल्लाको सिमकोट गाउँपालिका –१ र २ ठेहे गाउँमा यो पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् । ठेहे गाउँमा भुवो पर्वलाई दसैँ, तिहारको जस्तै महत्वका साथ यो पर्व मनाउने चलन रहेको स्थानीय रुपसिंह बोहराले बताउनुभयो । गाउँभन्दा टाढा सरदमुकाम, अन्य गाउँबस्तीमा कामको सिलसिलामा रहेका ठेहेका बासिन्दा यो दिन घर आइपुग्छन् ।

टाउकोमा सेतो पटुकी, घाँटीमा पहेंलो कपडा, ऊनी बक्खु र कम्मरमा सेतो पटुकी बाँधेर भुवाखाडोमा पुरुष जम्मा हुने गर्छन् भने धामीझाँक्रीले सेतो बक्खु लगाउने प्रचलन छ । युवा पुस्ताले भने गाउँमा कुटुम्बकी छोरीसँग पानी मागेर ठटेउली शब्द बोलेर रमाइलो गर्ने चलन रहेको बोहराले बताउनुभयो । ठेहे गाउँमा बोहरा थरका युवाले भण्डारी र रावल थरका युवाले बोहरा थरका युवतीसँग पानी माग्दै उनीहरुका बुवाबाजेको नाम पुकार्ने चलन छ । एक टोलबाट कुटुम्बको अर्को टोलमा गएर पानी माग्ने चलन रहेको उहाँले बताउनुभयो ।

बुढापाका भने रातभरि जाग्राम बसी भुवो देवता, देवीदेवताका भोजन, फाक, चाँची गाएर भुवोको अगेनु वरिपरि बसी गीत गाउने चलन रहेको झाँक्री भ्याल बोहराले बताउनुभयो । भुवोखाडामा गाउँको भलाई होस् भनेर खसीको बली दिने चलन समेत रहेको छ । झण्डै पाँच सय बढी घरधुरी रहेको ठेहेमा सबैले आ आफ्नो घरबाट एक एक दाउरो बोकेर भुवाखाडा लिने चलन समेत रहेको छ । गाउँका सबैले जम्मा पारेको दाउराका साथै सल्लाको दियालो भुवाखाडामा बालेर आगोको राप राम्रो भयो भने गाउँलाई बुसिकाल हुने जनविश्वास रहेको झाँक्री बोहराले बताउनुभयो ।

रातभर भुवो खेली सकेपछि पछिल्लो दिन बिहानपख दियालो सल्काएर गाउँ नजिकै खोला वा मुल पानीको धारो नजिकै भुवो विर्सजन गरी स्ननान गर्ने चलन समेत रहेको अर्का स्थानीय सोभा भण्डारीले बताउनुभयो । हिउँदयामको माइनसमा झरेको तापक्रमको चिसोको कुनै पर्वाह नगरी नुहाउँने भण्डारीको भनाई छ ।

बिहान सबेरै आफ्ना मान्यजनको घरमा गएर ढोक गर्ने चलन रहेको छ । राती भुवो खेल्दा मान्यजनको नाम पुकारेर गरेको गालीको माफी माग्न ढोग गर्न जाने चलन छ । राती भुवो मनाइसकेपछि दिनभरि नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शनका खेल, चुढाल (तरबार) नाच, फुर्का खेल खेल्ने चलन रहेको उहाँले बताउनुभयो । यस्तै जिल्लाको राया, थाली, उनापानी रिप, लगायत जिल्लाभर यो पर्व मनाइन्छ ।

महाभारतको स्मरणमा भुवो पर्व

महाभारतका पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै हुम्लाका विभिन्न गाउँमा भुवो खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धकाबेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवोका गीत गाइन्छ ।

वनबासमा पाण्डवका भाइ पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने चलन रहेको छ । भुवाखाडामा मुणा जम्मा गर्ने र भुवा औँसीको अघिल्लो दिन राति मुढा सल्काइ रातभरि देउडा, भुवो गीत, फाँक, चाँची, भोस्सो, खेल्ने चलन छ । ‘राति राँकेजुलुसको अर्को विशेषता पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएपछि राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरिन्छ ।

 

 

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]