सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ । गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।
गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, ६ वटा आधारभूत स्वास्थ्य इकाईमा यतिबेला औषधि अभाव भएको छ । गाउँपालिका भित्र रहेका यि स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही गएपनि औषधि नहुँदा फिर्ता हुने गरेको बताउने गरेका छन् ।
गाउँपालिकाभरीका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दम लगायतका विरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । गाउँपालिकाले औषधि खरीदका लागि टेण्डर आहान ढिला गर्दा औषधि अभाव भएको हो ।
दशैँ अघि पनि औषधि अभाव हुँदा रु पाँच लाखको औषधि गाउँपालिकाले गरिद गरेको थियो । दशैँमा खरिद गरेको पनि सकिएर पुन औषधि खरिदका लागि टेण्डर आहान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताउनुभयो । गाउँपालिकामा सबै औषधिको अभाव नभएपनि केही औषधिको अभाव भएको गाउँपालिका संयोजक शाहीले बताउनुभयो ।
यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले औषधि अभाव भएको जानकारी नभएको बताउनुभयो । तर गाउँपालिकाले यहाँका स्वास्थ्य संस्थामा चाहिँने औषधि र उपकरण खरिदका लागि टेण्डर आहान भएर स्वीकृत भएको सकेको बताउनुभयो । गाउँपालिकामा एक हप्ता माघ महिनाको पहिलो सातामा आइपुग्ने र चाडो पुर्याउन ताकेता लगाउने अधिकृत शाहीले बताउनुभयो । गाउँपालिकाले अहिले रु चौध लाख रुपैयाँको टेण्डर आह्वान गरेर खरिदका लागि पक्रिया अगाडी बढी सकेको छ ।
यतिबेला गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा उपचारका लागि विरामी गाउँमै रहेका स्वास्थ्य संस्थामा नपुगेर जिल्ला अस्पताल सिमकोटमा पुग्ने गरेका छन् । गाउँमा रहेका स्वास्थ्यचौकीमा औषधि नपाइने भएपनि जिल्ला वा जिल्ला बाहिर उपचारका लागि जाने गरेको पाइएको छ । स्वास्थ्य संस्थाहरुमा अभाव हुँदा बिरामीले औषधि पाएका छैनन् । स्वास्थ्य चौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका स्थानीय दलसुर परियारले गुनासो पोख्नुभयो ।
केही दिनअघि विरामीको चाप हुने रायाँ, छिप्रा, लाली, खर्पेगाउँमा रहेका स्वास्थ्यमा यतिबेला विरामी नै आउन छोडेको बताइएको छ । खार्पुनाथको वडा नम्बर एकको पिउस आधारभूत स्वास्थ्य इकाई, आधारभूत स्वास्थ्य इकाई, वडा नम्बर तीनको कारङगा, वडा नम्बर चारको लेख, छिप्रा आधारभूत स्वास्थ्य इकाई, वडा नम्बर पाँचको दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य इकाइमा औषधिको अभाव भएको हो ।