काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा विकास र सुशासनका लागि कम्युनिस्ट नै चाहिने बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू सरकारबाट हटेसँगै दमन सुरु भएको बताए ।
सम्बोधनका क्रममा ओलीले भने, ‘हामी सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो।’ २०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय मान्छे जम्मा गरेर कार्यक्रम गरेको ओलीको भनाई छ ।
‘स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’
ओलीले यस्ता कदम सच्याउन सरकारलाई खबरदारी पनि गरे । ‘प्रतिवाद पनि गर्छौं र आवश्यक पर्यो भने प्रतिरोध पनि गर्छौं’, उनले भने ।
यस्तै ओलीले माधव नेपाल समूहले विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको आरोप समेत लगाएका छन् । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भनेर एमाले नेताकै हैसियतमा सहभागी माधव नेपाललाई बेसरमको संज्ञा दिएका हुन् ।
ओलीले भने, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ । अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । यो भन्दा बेसरम के हुन्छ ?’