सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा प्रहरीले आइतबार राति चिनियाँ मदिरा (झिनिगिन्ट) बरामद गरेको छ ।
सिमकोट गाउँपालिका-७ को डाडाफयाबाट सदरमुकाम सिमकोट बजारमा ल्याउदै गरेको झिनिगिन्टी आइतबार बजार गस्तीले साढे दस बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।
लु २ च २२६७ नम्बरको गाडीमा दाउराले छोपेर लुकाएर ल्याएको २९ बोरामा ८७ कार्टुन प्रहरी निरीक्षक सुरेश सुवेदीको कमाण्डमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिमकोट बजारमा पछिल्लो समय प्रहरीले राति सात बजेपछि गाडी सञ्चालनमा रोक लगाउनुका साथै सिमकोट प्रवेशमा समेत रोक लगाउँदै आएको छ । दस बजेपछि उत्तरी भेगबाट गाडी सिमकोट बजार प्रवेश गरेपछि शंकास्पद भएपछि सोधपुछका साथै खोजतलास गर्दा गाडीमा चिनियाँ मदिरा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । चिनियाँ मदिरा, गाडी र सवारी चालकलाई नियन्त्रणमा लिएको बताइएको छ । अहिले कोलेनिका, उद्योग बाणिज्य संघ, प्रशासन, जनप्रतिनिधि, सञ्चारकर्मीको उपस्थितमा मुचुल्का उठाएर नष्ट गरिने भएको छ ।
हुम्लामा प्रहरीले चिनियाँ मदिरालाई अवैध मान्दै आउनुका साथै नियन्त्रणमा लिदैँ आएको छ । सिमकोटमा एक बोतल चिनियाँ मदिरा (झिनिगिन्टी) को रु पाँच सय पर्छ । भने एक कार्टुन मदिराको रु तीन हजार पर्ने गरेको छ । एक कार्टुनमा १२ बोतल चिनियाँ हुन्छ । चिनियाँ मदिरा कस्को हो भन्ने अनुसन्धान भइरहेको बताइएको छ ।
हुम्लामा विशेषगरि लिमी, चुवाखोला, टाके नाकाबाट अवैध मदिरा लुकिछिपि भित्रीने गर्दछ ।