सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा विद्युत लोडसेडिङको भार बढ्दै गएपछि यहाँका महिला आन्दोलीत भएका छन् । विहिबार माथिल्लो बजारमा रहेको विद्युत कार्यालयमा पुगेर सिमकोट गाउँपालिका–५ तल्लो गाउँका महिला आन्दोलीत भएका हुन् । तल्लो गाउँमा विद्युत लोडसेडिङको मार बढ्दै गएका कारण विहिबार कार्यालयमा पुगेर उनीहरुले आन्दोल गरेका हुन् ।
आन्दोलनमा सहभागी सिमकोट गाउँपालिका–५ तल्लो गाउँका स्थानीय काली रोकायाले भन्नुभयो, हामीललाई राती नचाहिने समय राती बाह्र बजेदेखि विहान चार बजेसम्म बत्तीको लाइन आउछ । त्यसपछि लोडसेडिङ हुन्छ । आवश्यक परेको बेला विद्युत लाइन कटौती हुन्छ । बेलुका खाना खाने समयमा पनि बत्ती आउँदैन्, विहानको खाना खाने समयमा पनि बत्ती आउँदैन् रोकायाले गुनासो पोख्नुभयो । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँमा मात्रै लोडसेडिङ बढी हुने रोकायाले बताउनुभयो ।
हेल्दुम वितरण केन्द्रले सदरमुकाम सिमकोट बजारमै लोडसेडिङ तालिकामा पक्षपात गरेको अर्का स्थानीय कालि रावतले बताउनुभयो । तल्लो, माथिल्लो गाउँमा विद्युत कम आउँछ । बजारमा रहेका कार्यालयसहित अन्य बजारवासीमा समेत विद्युत लाइन नियमीत आउने भन्दै रावतले आक्रोश व्यक्त गर्नुभयो । यस्तै हेल्दुम वितरण केन्द्रले सदरमुकाम बाहिरका गाउँ ठेहे, बरगाउँ, लिमाटाङ, बुराउँसे, छिप्रा, माजा, छिप्रा,स्याडा, चौगनफया,डाडाफया लगायतका वस्तिमा नियमीत विद्युत छोड्ने तल्लो गाउँ र माथिल्लो गाउँमा किन नछोडेको भन्दै यहाँका महिला सोही कार्यालयमा पुगेर आक्रोश व्यक्त गरेका थिए ।
त्यसैगरी विद्युत कटौती गर्ने डिउटीमा बसेका कर्मचारीले आफ्नो मनलाग्दी बत्तीको लाइन छोड्नुका साथै समय तालीका अनुसार नछोड्ने र आफन्त बस्ने क्षेत्रमा बढी लाइन छोड्ने गरेको आन्दोलीतमा पुगेका महिलाहरुको भनाइ थियो । राती बत्तीको आवश्यक नपर्ने समयमा बत्ती छोड्नु भन्दा चाहिने समयमा बत्ती छोड्नु पर्ने उनीहरुको भनाई थियो ।
तल्लो गाउँका महिला आन्दोलनमा पुगेको समयमा विद्युत कार्यालयका प्रमुख जीतेन्द्र शाहले यो विषयमा आफुले तत्काल कर्मचारीसँग छलफल गरी कसको कम्वजोरी हो पत्ता लगाएर समस्याको समाधान गर्ने आश्वासन दिनुभयो । शाहका अनुसार खोलामा पानी नै हिउँदको समयमा कम आउने भएका कारण पनि लोडसेडिङको मारमा सेवाग्राही पुगेको बताउनुभयो । सदरमुकाम सिमकोटबासीले हिउँदको समयमा झण्डै १४ घण्टा लोडसेडिङको भार खेप्दै आउनु परेको छ ।