सिमकोट । शनिबार हुम्लाको सरदुकाम सिमकोटमा विश्व उपभोक्ता अधिकार दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । “स्वच्छ र प्रतिस्पर्धि बजार, उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने मुल नाराका साथ सिमकोट बजारमा र्याली निकालेर विश्व उपभोक्ता दिवस मनाइएको हो ।
सदरमुकाम सिमकोटमा रहेको लोकतान्त्रिक चोकबाट प्ले कार्डसहित निकालिएको र्याली तल्लो बजार, खेल मैदान हुँदै लोकतान्त्रिक चोकमा कोण सभा गरी मनाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर बिष्टले बताउनुभयो ।
सिमकोट माथिल्लो बजारमा भएको कोणसभा कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीले उपभोक्ताले सामान खरिद गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । सदरमुकाम सिमकोटसहित जिल्लाभर आउने माछा मासुको चेक गर्ने मेसिन गोप्य रूपमा हुनुपर्ने र बजारमा रहेका पसलहरूले प्यान नम्बर लिन र नविकरण गरेको छ वा छैन बेला बेलामा अनुगमन हुनु पर्ने वाणिज्य संघका अध्यक्ष भण्डारीको भनाई थियो ।
उपभोक्ताले आफ्ना हक अधिकारबारे जानकारी राख्नुुपर्नेमा जोड समेत दिनुभएको छ । उपभोक्ता शुुद्ध र समय प्रयोगका लागि समय सीमा ननाघेका सामग्री प्रयोग गर्न पाउनु उनीहरूको अधिकार भएको भण्डारीले बताउनुभयो । साथै बजार अनुगमनलाई तीब्र पार्न सम्बन्धित कार्यालयले ध्यान दिनु पर्ने अध्यक्ष भण्डारीको भनाई थियो ।
सोही कोणसभा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको र चार अधिकारको सही रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
आजै भएको उक्त कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरीक समाज, लगायतको उपस्थित रहेको थियो ।