सिमकोट । हुम्लामा विहिबार र शुक्रबार परेको वर्षाले जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–२ रीग गाउँमा ठूलो क्षति पुर्याएको छ । रीप गाउँ नजिक रहेका खेतहरु पहिराले बगाएर लिएको छ । भने विभिन्न स्थानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । गाउँ नजिक खेतमा लगाएको धानका बेर्ना पहिरोले बगाएर लिएको स्थानीय विवय फडेराले बताउनुभयो । कात्तिकमा उत्पादन हुने धानका बेला सार्न नपाउँदै पहिरोले बगाएर लिएको फडेराले बताउनुभयो । आफ्नो सहित औस्या विक, रंगा महतारा, गोरा लुवार, वीर थापा, डल्ली विक लगायत झण्डै एक दर्शज बढी स्थानीयका खेतमा क्षति पुर्याएको छ ।
यस क्षेत्रमा वर्षासँगै खसेको पहिरोले खेतबारी, र सडकमा ठूलो क्षति पुर्याएको अर्का स्थानीय दिपक महताराले बताउनुभयो । दुई सय तीस घरधुरी रहेको रिप गाउँमा खेतबारीमा शुक्रबार राती पहिरो गएपछि स्थानीयबासी त्रसित भएको महताराले बताउनुभयो । यस्तै सोही क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकको खडिखेतमा समेत वर्षासँगैको पहिरो जाँदा ठूलो क्षति पुर्याएको बताइएको छ । खडीखेत क्षेत्रमा पहिरो खस्दा कर्णाली करिडोरको सडक नै अहिले अवरुद्ध भएको छ । पहिरोले यहाँ रहेको सडकलाई क्षतविक्षत बनाएको छ भने होटलमा समेत असर पारेको छ । शुक्रबार राती पहिरो खस्दा मानवीय कुनै क्षति नभएपनि भौतिक क्षति पुर्याएको छ ।
रीपमा पहिरोले पुर्याएको क्षतिको विवरण संकलनका साथै मुचुल्का उठाउनका लागि सर्केगाड प्रहरी चौकीको टोली त्यस तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पहिरो खस्दा के कति क्षति भएको छ अहिले नै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेश सुवेदीले बताउनुभयो । रीप गाउँमा गत वर्षको वर्षाले पहिरो जाँदा लाखौँको क्षति पुर्याएको थियो । यस वर्षपनि वर्षाको मौसमको सुरुवात हुँदै पहिरो जाँदा क्षतिविक्षत बनाउँदा यहाँका स्थानीय त्रसित भएका छन् ।