आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्‍याउनेबाट केही पनि सिक्न सकिँदैन : अध्यक्ष ओली

नेपालचेक समचारदाता आइतबार, साउन १७, २०७८

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्‍याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २४ औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताउनुभयो । नेपाली नागरिकले विकास र सुशासनका लागि कम्युनिस्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उहाँले बताउनुभयो ।

आफूले नेतृत्व गरेको सरकारका कारण आमनागरिककाे सरकारप्रति आशा र भरोसा बढेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र नागरिकका लागि निःस्वार्थ रूपमा योगदान गरेको उल्लेख गर्नुभयो । उहाँहरूले देश र पार्टीका लागि व्यक्तिगत स्वार्थ र अहम् त्यागेर लागेको उहाँले उल्लेख गर्नुभयो । ओलीले भन्नुभयो, पुष्पलालले काँचो चना खाएर पनि पार्टी र देश बनाउन लाग्नुभएको थियो ।

एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने गरेको उहाँले बताउनुभयो ।

सत्यका पक्षमा लाग्ने व्यक्तिलाई विगतदेखि नै विभिन्न पक्षले असहयोग गर्ने गरेको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ऋषिमुनिका तपस्या भाँड्नेदेखि बुद्धलाई गलत देख्नेहरू नभएका होइनन् । त्यो कुरा अझैसम्म रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले विगतमा एकीकरण भएको कम्युनिस्ट पार्टी के–के कारणले गर्दा फुट्यो भनेर समीक्षा गर्नुपर्ने औँल्याउनुभयो । एमाले स्थायी कमिटी सदस्य केशव बडालले तुलसीलालको पार्टी र देशप्रतिको निष्ठा भावबाट हामीले धेरै कुरा सिकेर अवलम्बन गर्न सकिनेमा जोड दिनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]