काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको हो । तर भेटवार्ताका लागि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । आज साँझसम्म अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुने नेम्वाङले जानकारी दिए ।
विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र प्रयासका कारण दुई नेता भेटवार्ताका लागि तयार भएका हुन । नेता नेम्वाङले भने, ‘दुई नेताबीच भेटवार्ता हुने करिब करिब पक्का भएको छ, तर समय र स्थान तय हुन बाँकी छ ।’
भेटवार्तामा दुई नेताहरुबीच आन्तरिक विवादको न्यूनतम सहमतिका विषयमा छलफल हुने बताइएको छ । नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाउँदै आएको छ ।
यसअघि सोमबार बसेको नेपाल पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो ।