काठमाडौं । संघीय संसद् अन्तरगत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।
त्यस्तै तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । हाल नेपाली कांग्रेसमा रहेका सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।
आज बस्न लागेको बैठक प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक हो ।