सिमकोट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाको दक्षिण क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । देशभर फैलिएको दोस्रो लहरको हटस्पटक बनेको ताँजाकोट, अदानचुली र चंखेली गाउँपालिका भित्र रहेका विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन् ।
बिहिबार आज दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका भित्र रहेका सम्पुर्ण विद्यालय पुनः सञ्चालनमा आएका हुन् ।
गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुन सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिनुभयो ।
उनले भने, “हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं ।”कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको जनाइएको छ ।
लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । अदानचुलीमा १८ सामुदायिक विद्यालय छन् । ताँजाकोट गाउँपालिकामा रहेका १८ विद्यालय पनि सञ्चालनमा यस अघि आईसकेका छन् ।
ताँजाकोट गाउँपालिकाले यस अघि नै विद्यालय पुनः सञ्चालनमा ल्याईसकेको छ । संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोही अनुसार तयारी गरिरहेका छन् ।
तर जिल्लाको माथिल्लो क्षेत्रमा रहेका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा रहेका विद्यालय कहिले खुल्ने हुन भन्दै विद्यार्थीले प्रश्न उठाउन थालेका छन् । कोभिड १९ को असर देखिने बित्तिकै विद्यालय बन्द भएका छन् । माथिल्लो हुम्लाका गाउँपालकाले कोरोना सम्बन्धिका सुरक्षित मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताइएको छ ।