सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा कक्षा ११ को परीक्षामा केन्द्रमा १३ दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् ।
जारी कक्षा ११ को परीक्षामा खार्पुनाथ गाउँपालिका–५ बाम्टा घर भई सदरमुकामस्थित मानसरोवर माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी किउरी सुनारले सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् ।
विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत सुनारले पहिलो नेपाली विषय परीक्षा दिएको प्रधानध्यापक अमर बहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षाको व्यवस्था गरेका छौँ”, शिक्षक शाहीले भन्नुभयो । उहाँका अनुसार सामान्य विद्यार्थी जस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी छन् ।
गत जेठमै सम्पन्न हुनुपर्ने कक्षा ११ र १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाई परीक्षा सञ्चालन गर्न निर्देशन दिएपछि मानसरोवर माध्यामिक विद्यालयले शुक्रबार देखि परीक्षा सुरु गरेको हो । परीक्षामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति देखिएको छ । महामारीका कारण वैशाखदेखि अनलाइन कक्षाको भरमा पढेका विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन् ।