दार्चुला तुइन प्रकरणः छानविनमा भारतीय पक्षको असहयोग

नेपालचेक समाचारदाता बुधबार, साउन २७, २०७८

दार्चुला । तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाका एक युवक बेपत्ता भएको घटनासम्बन्धी अनुसन्धानमा नेपाली टोलीलाई भारतले ‘असहयोग’ गरेको छ । १० दिनभित्र अनुसन्धान नसकिएपछि टोलीलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार ७ दिन म्याद थपिदिएका छन् ।

दार्चुलाको व्यास–२ मालघाटमा एसएसबीले तुइन फुस्काउँदा महाकालीमा जयसिंह धामी बेपत्ता घटनाको छानबिनका लागि शुक्रबार गाउँ पुगेको गृह मन्त्रालयको टोली ।

दार्चुला सदरमुकाम खलंगा जान साउन १५ गते व्यास गाउँपालिका–२, खाङदाङ (मालघाट) मा रहेको तुइनबाट महाकाली नदी तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका थिए । तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्ठा खुस्काउँदा उनी महाकालीमा खसेको स्थानीयको भनाइ छ । घटनाको दुई दिनपछि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको टोली साउन १९ बाटै खलंगालाई मुकाम बनाएर घटनाको प्रमाण संकलनमा जुटे पनि भारतीय पक्षले सहयोग नगरेको स्रोतले जनाएको छ ।

गृहमन्त्री खाँणले राष्ट्रिय सभामा १८ गते र प्रतिनिधिसभामा १९ गते दार्चुला घटनाबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका थिए । छानबिन समितिले स्थानीय र प्रत्यक्षदर्शीसँग कुराकानी तथा घटनास्थलको अनुगमन गरिरहेको छ । तर ठोस प्रमाण हात लागेको छैन । भारतीय प्रशासन घटनामा एसएसबीका जवान संलग्न रहेको आरोप पुष्टि नहुने भन्दै पन्छिएको छ । तुइनको लट्ठा खुस्काउने एसएसबीका जवान पहिचान गरी कारबाहीको दायरामा ल्याउन पिथौरागढस्थित भारतीय जिल्लाधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) को कार्यालयलाई नेपाली पक्षले आग्रह गरेको थियो ।

बेपत्ताको खोजबिन गर्न घटनास्थल हुँदै महाकाली क्षेत्रका दार्चुला, बैतडी र कञ्चनपुर तथा त्यही आसपासको भारततर्फ ड्रोन उडाउने प्रयास पनि विफल भएको छ । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले महाकाली नदीपारि किनारै किनार ड्रोन उडाउन साउन २३ मा पिथौरागढस्थित जिल्लाधिकारीलाई पत्र पठाइएको तर मंगलबार साँझसम्म कुनै जवाफ नआएको बताइन् । पत्र पठाएको भोलिपल्टै प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको प्राविधिक टोली खलंगा पुगेको थियो । महाकाली नदीपारि ड्रोन उडाउन भारतीय प्रशासनको अनुमति चाहिन्छ । भारतले अनुमति नदिएपछि प्राविधिक टोलीले नेपालतर्फको भूभागमा मात्रै ड्रोन उडाएर बेपत्ताको खोजबिन थालेको छ । बेपत्ता धामीको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दुई साता पुग्न लाग्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेकामा सरकार थप गम्भीर बनेको बताए । प्रतिवेदनको राय र सुझावका आधारमा बेपत्ताको परिवारका लागि राज्यका तर्फबाट राहत तथा संरक्षणका विषयमा उचित निर्णय लिइने पनि उनले जनाए । ‘दार्चुला घटनालाई सरकारले गम्भीर रूपमा लिएर नै सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो,’ पोखरेलले भने, ‘समिति अहिले पनि फिल्डमै छ, प्रमाण संकलनको काम भइरहेकै छ ।’ उनका अनुसार घटनाबारे सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धित संयन्त्रसँग पनि छलफल र परामर्श गर्न निर्देशन दिइएको छ । विस्तृत समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]