सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दाहरु एक घण्टा पैदल हिडेर नदीको धमिलो पानी खान बाध्य हुँदै आएका छन् । गत साउन २० गते आएको बाढीले खानेपानीको मुहान र पाईप लाईन बगाएपछि स्थानीयले पानीको व्यवस्था गर्न दुःख गर्दै आएका हुन् ।
तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाईप लाईन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनु परेको बताए । घर आगनमै भएका धारामा पानी आउन छोडेपछि घरका एक जनाको काम दैनिक पानी ओसार्ने गरिएको हो ।
यसरी सिंगो खानेपानीको योजनालाई बाढीले क्षति पुर्याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य हुँदै आएका छन् । बिहान सबेरै उठेर तुम्कोटका स्थानीयको लाईन लागेर खानेपानी ओसार्ने कार्य दैनिकी जस्तै हुन थालेको छ । यसबाट तुम्कोटका २५ घरधुरीका स्थानीय प्रभावित भएका छन् ।
तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुईसिङ खानेपानी तथा सरसफाई योजनालाई बाढी पहिरोले गर्दा बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको हो ।
पुरै संरचनाको विजोग अवस्था बनाएको छ । तर गाउँमा निर्माण भएका छ वटा सार्वजनिक स्थानका धाराहरु भने जस्ताको तस्तै रहेको बताइएको छ । मुहान बाढीले बगाएर लगेपछि गाउँमा भएका धारामा पानी नआउदा एक घण्टा हिडेर नदीको पानी पिउन बाध्य भएका हुन ।
हेर्नुहोस् तस्विर सहित