सिमकोट, । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली र ताँजाकोट गाउँपालिकाको सिमा क्षेत्रमा रहेको खौलाबाट प्रहरीले ठुलो परिणामको घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ ।
दुई वटा गाउँपालिका सिमाना खौलामा साउने (जनै) पुर्णिमाको अवसरमा लाग्ने मेलामा गाउँबाट बिक्रीका लगिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले बताउनुभयो ।
जिल्लामा मदिरा विक्री वितरणमा कडाई गर्दै आएको प्रहरीले सुचना पाएपछि प्रहरी चौकी गल्फागाडबाट आठ जना, प्रहरी चौकी छप्रेला ताजाकोटबाट पाँच जना र प्रहरी चौकी श्रीनगरबाट पाँच जना गरी जम्मा १८ जनाको प्रहरी टोली खटिएर खौलामा पुगेर पाल टाँगेर खोलिएका अस्थायी होटेलमा चेकजाँच गर्दा ३९२ लिटर घरेलु मदिरा फेला पारेर नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरी प्रमुख शर्माले बताउनुभयो ।
मेलामा रमाईलो हेर्न आउनेहरुका लागि बिक्री गर्नका घरेलु मदिरा राखिएको हो । उक्त मदिरा स्थानीय रुपमा उत्पादन गरिएको हो र बरामदपछि नष्ट गरीएको जानकारी प्राप्त भएको छ ।
दुवै गाउँपालिकाको खौलामा लाग्ने मेला हेर्नका लागी मुगु र बाजुरा जिल्लाका मानिसहरु पनि आउने गर्दछन् ।