काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीमा नफर्कने पक्कापक्की भएपछि मात्रै नेकपा एमाले २०७५ जेठ २ गते भन्दा अगाडिको अवस्थामा फर्कने भएको छ । मध्यमार्गी भनिएका नेताहरु सहितको असन्तुष्ट माधव नेपाल समूहले सुरुवाती दिन देखि नै सर्वोच्चको फैसला बमोजिम पार्टीलाई जेठ २ गतेको अवस्थामा लैजान माग गर्दै आएको थियो । जबकी एउटै फैसलाबाट प्रभावित अर्को पार्टी नेकपा माओवादी केन्द्रले फैसला बमोजिम आफ्ना गतिविधि उहिल्यै सुचारु गरिसकेको छ । लामो समय पार्टी अध्यक्ष ओलीले प्रतिगमन गरेको भन्दै सार्वजनिक मन्चमा उनको दोहोलो काढ्दै आएका घनश्याम भुसाल, योगेश भट्टराई, भीम रावल, अष्टलाक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट लगायतका मध्यमार्गी भनिएका नेता दश बु“देले मुख ढाक्दै सोमबार बालकोट छिरेपछि बचेखुचेका सेनामेना लिएर माधव नेपाल चन्द्रागिरितिर हानिएका थिए ।
अदालतको फैसलालाई तिरस्कार गर्दै लामो समय जेठ २ फर्कन आनाकानी गरेको भएपनि माधव नेपाललाई छोडेका मध्यमार्गीहरु समेतको उपस्थितिमा मंगलबार बसेको एमाले स्थायी समिति बैठकले जेठ २ मा फर्कने निर्णय गरेको हो । यति ढिलो गरि गरिएको यो निर्णयले पार्टी अध्यक्ष ओली विरुद्ध सबैभन्दा बढी थुतुनो चलाउने स्वघोषित मध्यामार्गीहरुको अलिकति ‘फेस सेभिङ‘ होला तर पार्टी विभाजन रोक्ने अवस्था भने रहेन । मुलुकमा कुनै राजनीतिक चमत्कार भएन भने आज बुधबार माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट जन्मदर्ता प्रमाणपत्र पाउने पक्का पक्की जस्तै छ ।
कोही वालकोट र कोही चन्द्रँगिरिमा ताहुरमाहुर गरिरहेको बेला पार्टी फुटको अनुभव बटुलेका पार्टी उपाध्यक्ष वामदेव गौतमको भने पत्तोखबर छैन । भाषण र अन्तरवार्तामा माधव नेपालतिर र मिटिङ बैठकमा आलीतिर उपस्थिति जनाउदै आएका गौतम निर्णायक बैठकमा भने दुबैतिर उपस्थित छैनन् । बरु दिल्लीमा मृर्गौला प्रत्यारोपण गरी उचार गराइरहेका बरिष्ठ नेता झलनाथ खनालले कागजी प्रकृयाबाट भए पनि निर्वाचन आयोगको हस्ताक्षर सनाखतमा उपस्थिति जनाउने भएका छन् ।
लामो अवधि हैन यो साढे तीन बर्षको अवधिमा दुइतिहाइको सरकार चलाएको नेकपा सरकारबाट बाहिरिने मात्रै होइन फुटको अवस्थामा पुग्यो । समयले सबैको हिसाब किताब गर्ला नै तर सबैभन्दा नमज्जाको कुरा के भने धेरैले आशा गरेको एमालेको दोस्रो पुस्ता भने नराम्ररी उदांगो भएको छ । के रामकुमारी झाक्रीहरुले मात्रै थाम्न सक्लान् त दोस्रपुस्ताको विश्वास कायम राख्ने यति ठूलो चुनौतिको भारी ? प्रश्न अनुत्तरित नै छ । अनि अर्को प्रश्न पनि थपिएको छ — माधव नेपाल पार्टीमा नफर्कने पक्का भएपछि मात्रै किन जेठ २ मा र्फिर्कयो एमाले ?
विद्रोहको अन्तिम बिन्दुमा छौँ : खनाल
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको विद्रोहले नेपालमा नयाँ क्रान्तिकारी पार्टी जन्माउने बताएका छन् । दिल्लीस्थित एपोलो अस्पतालको बेडबाटै चन्द्रागिरिमा जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार अडियो सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अब क्रान्तिकारी शैलीमा अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि गरिने सनाखतमा दूतावासमार्फत वारेसनामा पठाएका खनालले नयाँ निर्माणका लागि विद्रोह स्वभाविक भएको उल्लेख गरे । अध्यक्ष ओलीको अवसरवादी नेतृत्वका कारण दुई दल मिलेर बनाइएको नेकपाको एकता पनि भताभुंग भएको उनले बताए । दुईतिहाइ नजिकको सरकार पनि नरहेको उनले बताए ।
साढे तीन वर्ष शासन चलाउने क्रममा ओलीले मनपरी गरेको आरोप लगाए । ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट पनि ओलीले पार्टीलाई थाहै नदिइ ल्याएको बताए । पार्टीले सरकारमार्फत देशलाई समाजवादतिर लैजानु भन्दा ओलीले दलाल पुँजीवादको यात्रा तर्फ अघि बढाएको भन्दै खनालले आक्रोश पोखे । ’ओलीविरुद्धको यो विद्रोह नयाँ निर्माणका लागि हो, नयाँ क्रान्तिका लागि हो’, उनले भने, ’ओलीविरुद्धको विद्रोहले नयाँ पार्टी बन्छ । तपाईं हामी ओलीविरुद्ध विद्रोहको बिन्दुमा आइपुगेका छौँ । केशरजंगविरुद्ध पनि विद्रोह भएको थियो ।’