सिमकोट । लगातार परेको अविरल वर्षाले सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँ निवासी डबले परियारको घर भत्किएको छ ।
केही समय अगाडी निर्माण गरीएको नयाँ घर तीन दिन लगातार परेको अविरल वर्षाका कारण भत्किएको परियारले गुनासो गर्नुभयो । गाउँभन्दा टाढा रहेको रामपाल देवताको मन्दिर नजिक निर्माण गरीएको घर अविरल परेको वर्षाले भत्काउँदा आफन्तको घरमा शरण लिएर बस्नु परेको उहाँका छोरा दिपक परियारले गुनासो गर्नुभयो ।
केही दिन अगाडी मात्रै नयाँ निर्माण गरिएको दुई तल्ले घर भत्किएपछि परिवारको विचल्ली भएको बताउनुभयो । गाउँपालिकाले सिमकोट–ठेहे सडक निर्माण गर्ने क्रममा डोजरले खन्दा बाटो घरको छेउसम्म पुग्दा जोखिम बढिरहेको बेला लगातार परेको वर्षाले दुई तले ६ कोठे घर भत्किएर पूर्ण रुपमा क्षति पुगेको छ ।
घरको माथिल्लो तला पूर्ण रुपमा क्षति भएको छ भने तल्लो तलाको पनि एउटा कोठा पूर्ण र दुई वटा कोठामा आंशिक क्षति पुगेको छ । तीन वर्षको मेहनतपछि बल्ल सम्पन्न भएको घरमा भर्खर सरेकै बेला भत्किएर विचल्लीमा परेको पीडित परिवारको गुनासो गर्नुभयो ।
घर भत्किँदा भित्र भएको धनमालमा समेत क्षति पुगेको र गाउँलेको सहयोगमा केही सामान निकाल्न सफल भएका उहाँले बताउनुभयो ।
सिमकोट गाउँपालिकाले आफ्नो अनुकुल्ताका आधारमा मनपरी सडक निर्माण गर्दा वडा एक र दुई ठेहेका स्थानीयका अधिकांस नागरीकका घर जोखिममा रहँदै आएका छन् । वडा २ ठेहेमा परियारको घर मात्रै नभएर गाउँमा रहेको ठुलो वस्तिको तलतिर सडक नजिक रहेका घरहरु थप जोखिममा रहेका छन् ।